काठमाण्डु – विदेशी वायुसेवा कम्पनीहरू कतार एयरवेज, जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान रोकेका छन् ।
ती कम्पनीले कम भिजिबिलिटीले अवतरणमा समस्या भएको देखाउँदै तत्कालका लागि उडान रोकेका नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
भुलले जजिरा, फ्लाई दुबई र थाइ एयर एसियाले एक महिनापछि फेरि नियमित उडान गर्ने जानकारी दिएको बताए । एक महिनापछि नियमित उडान गर्ने गरी प्राधिकरणले उनीहरूको अनुमति स्वीकृत गरिसकेको छ।
फ्लाई दुबईले डिसेम्बर १५ देखि जनवरी १२ सम्म, जजिराले डिसेम्बर १४ देखि जनवरी ३० सम्म, उडान बन्द गरेका छन् । थाइ एयर एसियाले एक सातादेखि उडान रोकेको छ।
फ्लाई दुबईको जनवरी १३, जजिराको जनवरी ३१ देखि र थाइको यही डिसेम्बर २६ देखि नियमित उडान गर्ने गरी प्राधिकरणले अनुमति स्वीकृत गरिसकेको छ ।
अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको जहाजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। निगमले अहिले काठमाडौं–भैरहवा–दुबई सातामा दुई उडान गरिरहेको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माणका लागि १० घण्टा बन्द भएपछि पाँच वटा कम्पनीले भैरहवातर्फ उडान सुरू गरेका थिए। कात्तिकदेखि कतार, थाई एयर एसिया, जजिरा, फ्लाइ दुबई र नेपाल एयरलाइन्स गरी पाँच वटा वायुसेवाले नियमित उडान थालेका थिए ।
प्रतिक्रिया