जिबी राईको ‘लोकेशन’ पत्ता लागिसक्यो : गृहमन्त्री

जिबी राईको ‘लोकेशन’ पत्ता लागिसक्यो : गृहमन्त्री


काठमाण्डु–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरिक्षक (आईजीपी) फेर्नेबारे कुनै पनि काम नभएको बताएका छन् ।

चितवनमा बिहीबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आईजीपी फेर्नेबारे कुनै निर्णय नभएको बताए ।

‘चर्चा कसैले चलाइदियो, बुझ्नेले कसरी बुझ्नुभयो, तपाईंको प्रश्न कुन ढंगमा आयो । आइजिपी फेर्ने कुरा मैले कहाँ भनेँ, तपाईंले कहाँ सुन्नुभयो ? कुनै ठाउँमा कुनै पत्रिकाले लेखिदियो होला ? अर्काले बनाइदिएको हेडलाइन बोकेर तपाईंहरूजस्ता मूर्धन्य, इतिहास बोकेका पत्रकार हिँड्नु हुँदैन । त्यस्तो चर्चा कहाँ चल्या छ र भन्या ? बजारमा कहीँ कतै, बिजोग डटकम, कन्तबिजोग डटकम, महाबिजोग डटकमले लेखेको कुराको जवाफ गृहमन्त्रीले दिएर हिँड्छ त ?,’ उनले भने ।

केही दिनअघि गृहमन्त्री लामिछानेले आईजीपी बसन्त कुबँरलाई हटाएर श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउन लागेको समाचार बाहिर आएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारेमा कुनै पनि सत्यता नरहेको बताएका थिए ।

यस्तै उनलेसहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्र बाबु (जीबी) राई मलेसियामा कहाँ लुकेर बसेका छन भन्नेबारे लोकेशन पत्ता लागिसेकेको दाबी गरे । आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र उनले पनि फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको गृहमन्त्री लामिछानेले दाबी गरे ।

‘जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको छ तर कोसिस जारी छ’, उनले भने ।

जीबी राईको विषयमा तीन दिन अघि मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको लामिछानेले बताए ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेशिया सरकारलाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले हालसम्म कुनै औपचारिक जबाफ दिएको छैन् ।

नेपालले राईमाथि नेपालमा लागेका आरोप, उनलाई पक्राउ गर्न इन्टरपोलबाट जारी भएको सूचना सहितका विवरण मलेशियालाई पठाए पनि उनी मलेसियामा रहे वा नरहेको आधिकारिक जानकारी समेत मलेसियाले नेपाललाई आधिकारिक जानकारी गराएको छैन् ।