१२ वर्षीय बालक तीन दिनदेखि राजधानीबाटै बेपत्ता

१२ वर्षीय बालक तीन दिनदेखि राजधानीबाटै बेपत्ता


काठमाडौं– राजधानी काठमाडौंबाट एक १२ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्।

 

 

हात्तिवनस्थित लिटिल एन्जेल्स स्कूल कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बालक गिनिज भट्टराई गत शुक्रबारदेखि बेपत्ता भएका हुन्।

 

 

शुक्रबार दिउँसो ३–४ बजेतिरबाट बेपत्ता भएका भट्टराईको खोजीकार्य भइरहेको महानगरीय प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजुु लामाले जानकारी दिए।

 

 

आफ्ना साथी प्रशान्त तामाङको घर कोटेश्वर हुुँदै साथीहरुसँग काडाघारीस्थित पार्टीमा गएका भट्टराईको अवस्था अज्ञात रहेको छ।

 

प्रहरी निरीक्षक लामाका अनुसार भट्टराईले प्रशान्तको लुुगा लगाएर काडाघारी गएका थिए। त्यहाँ जुस पनि खाए।

 

 

सोही दिन भट्टराईका दाई दीपकले उनको साथी विशालको नम्बरमा फोन गरेका थिए। तर, प्रशान्तले नै फोन काट्न लगाएको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक लामाको भनाई छ।

 

 

भट्टराईको खोजी गरिदिन उनका आफन्तले प्रहरी समक्ष निवेदन दिएका छन्।

 

 

 

भट्टराईका बुवा लवराज स्थायी घर बझाङमा बस्दै आएका छन्। गिनिज राजधानीमा आफ्नी आन्टी मञ्जुसँग बस्दै आएका थिए।