गिरिजाप्रसाद कोइराला हामी सबैको अभिभावक हुन् : अध्यक्ष दाहाल

गिरिजाप्रसाद कोइराला हामी सबैको अभिभावक हुन् : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताएका हुन् ।

उनले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे । ‘‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ’’, उनले भने, ‘‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनु होला ।’’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा निषेध भएका तर शान्तिप्रक्रियामा ल्याउँदा भने हामीबीचको सम्बन्ध राम्रो भएको बताए । मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पु¥याउनुपर्ने बताए । ‘‘जसरी काँग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरियाैँ, ‘‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्दछ ।’’ उनले भने ।

अध्यक्ष दाहालले राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको बताउँदै भने “सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ,’’।