काठमाण्डु-ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक ग्राहकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने छन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्ने छन् ।
ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने छन् । यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्ने छन् ।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्नेछ र निवेदक बाहेक अन्य व्यक्तिको सेयर धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।
यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।
प्रतिक्रिया