ग्लोबल आईएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्दै, प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

ग्लोबल आईएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्दै, प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले ५ अर्बको रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

ऋणपत्र बिक्रीका लागि ग्लोबल आईएमई बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने ‘ग्लोबल आईएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको छ ।

जारी युनिटको ४० प्रतिशत अर्थात् २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् २ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने छ । १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १ हजार १०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।