काठमाण्डु – २४ चैतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिंदै छ । अधिकारीको कार्यकाल सकिन १० दिन मात्र बांकी रहँदा नयां गभर्नर बन्नका लागि आकांक्षीहरूको दौड सुरु भइसकेको छ ।
सत्तारुढ नेपाली कांग्रेस र नकपा (एमाले) निकट आकांक्षीहरूले गर्भनर बन्न सत्ता केन्द्रित दौडधुप सुरु गरिसकेका छन् ।
प्रधानमन्त्री केपी ओली तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले निकट मानिएकालाई गर्भनर बनाउन चाहेका छन् भने कांग्रेसले भावी सरकारको नेतृत्व गर्ने भएकोले उसले पनि नयां गर्भनरमा आफ्नो ‘च्वाईस’को व्यक्ति हुनुपर्ने चाहेको छ ।
सत्ता गठबन्धनमा रहेका दुवै दलले संवैधानिक पदहरू भागवण्डा गरेका कारण गभर्नर कसको भागमा पर्ने हो भन्ने चांसो सबैतिर छ । गर्भनर आफु निकट व्यक्तिलाई बनाउन व्यवयासी र स्वार्थ समुहहरु समेत दौडधुपमा छन् ।
को -को छन् आकांक्षी
कांग्रेस र एमाले नयां गर्भनर आ–आफ्नो भागमा पार्ने दाउपेचमा रहेका बेला नयां गर्भनरका आकांक्षीहरूले दौडधुप सुरु गरेका छन् । उनिहरु सत्तारुढ दल निकट व्यापारी र प्रभावशाली नेताहरुको घरदैलो गरिरहेका छन् ।
गर्भनर चयन गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको संयोजकत्वको गभर्नर सिफारिस समितिले काम गरिरहेको छ । अर्थमन्त्री पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा.विश्व पौडेल सदस्य छन् ।
नेपाल राष्ट्र बैंकका कर्मचारीसहित विभिन्न अर्थशास्त्री र निजी बैंकका सीईओहरू अग्र पङ्क्तिमा देखिएका छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारी पनि आकांक्षी देखिएको चर्चा छ । तर, उनलाई गभर्नर बनाउने सम्भावना कम छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, गुणाकर भट्ट र बमबहादुर मिश्र पनि दाबेदार देखिएका छन् । गर्भनर हुने मौका पाए देशको अर्थतन्त्रलाई सही दिशामा लान सक्ने र सरकारको लक्ष्य प्राप्तीमा योगदान दिने नयां आकांक्षीहरूले दावी गरिरहेका छन् । ढुंगाना र मिश्रले एमालेनिकट नेताहरू मार्फत लबिङ बढाएका छन् ।
पहिलो महिला गभर्नर हुने मौका रहेका कारण ढुंगानाले लबिङ निकै बढाएकी छिन् । मिश्र पनि झापाको सम्बन्धकै कारण प्रधानमन्त्री ओलीसम्म पुगिरहेका छन् । ढुंगानाले पछिल्लो समय संचारमाध्यममार्फत समेत लविङ गरिरहेकी छिन् ।प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैसंग निकट सम्बन्ध रहेका र पछिल्लो समय सबै राजनीतिक नियुक्तिमा हावी देखिएका व्यापारी दीपक भट्ट नीलमलाई बनाउन लविङमा छन् ।
गुणाकरको पक्षमा सुदुरपश्चिबाट प्रतिनिधित्व गर्ने सांसद र नौ जिल्लाकै कांग्रेस सभापतिहरु लविङमा छन् । उनलाई गभर्नर बनाउन सभापति देउवा र परराष्ट्रमन्त्री आरजु देउवामाथि दवाव छ ।
एमाले महासचिव शंकर पौडेल र अर्थमन्त्री विष्णु पौडेल भने श्रेष्ठलाई बनाउने पक्षमा छन् । कांग्रेस नेता प्रकाशशरण महत र अर्का व्यापारी नरेश श्रेष्ठको समुह भने रविन्द्र पाण्डेको पक्षमा छ ।
यता, गर्भनर बन्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । गभर्नरका आकांक्षी रहेका श्रेष्ठले कार्यकारी निर्देशकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
श्रेष्ठले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया थप रोचक बनेको छ । शुरुदेखि नै भावी गभर्नरको दावेदारको रुपमा हेरिएका उनले गभर्नरको दौडमा औपचारिक रूपमा सामेल हुन नै कार्यकारी निर्देशकबाट राजीनामा दिएको हुन सक्ने आशंका गरिएको छ ।
श्रेष्ठले पदबाट राजीनामा दिएसंगै उनले गभर्नर बनाउने आश्वासन पाएको हुन सक्ने चर्चा छ । एमाले निकट रहेका श्रेष्ठ अर्थतन्त्रको बारेमा राम्रो ज्ञान भएका अर्थशास्त्री हुन् । तर, पछिल्लो समय राजनीतिक नियुक्तिमा व्यवसायीहरु बढी हावी भएकाले यसै भन्न नसकिने अवस्था रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
यस्तै नबिल बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुङानाले पनि चैत १० देखि लागू हुने गरी राजीनामा दिएका छन् । उनी पनि गर्भनर बन्ने लाइनमा छन् । गर्भनर बन्न ढुङगाना अहिले कांग्रेसका नेताहरूको सहयोग लिइरहेका छन् । कांग्रेस सांसद समेत रहेका व्यवसायी विनोद चौधरी, कोषाध्यक्ष उमेश श्रेष्ठ ढुंगानालाई बनाउन लागेका छन् ।
प्रतिक्रिया