गोबिन्द बिस्ट र विपिका रावलले गरे प्रगतिशील विवाह,१ लाखको अक्षय कोष घोषणा

गोबिन्द बिस्ट र विपिका रावलले गरे प्रगतिशील विवाह,१ लाखको अक्षय कोष घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय विशेष समिति संयोजक गोबिन्द बिष्टले विपिका रावलसँग विवाह गरेका छन्।

शुक्रबार काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांकृतिक प्रतिष्ठानमा बिष्ट र रावलबीच प्रगतिशील विवाह भएको हो। अत्यन्तै कम खर्चमा आयोजना गरिएको विवाह कार्यक्रम दुलाहदुलहीले एकअर्कालाई माला र अबिर लगाइ प्रतिबद्धतापत्र पढेर सम्पन्न भएको हाे।

विवाह कार्यक्रममा बिष्ट र रावलले देश, जनता र कम्युनिस्ट मूल्य मान्यतालाई आत्मसात गर्दै सँगै जीवन यात्रा गर्ने प्रतिबद्धता गरेका छन्। त्यसैगरी उनीहरुले आफूहरु जीवनका हरेक परिस्थितिमा एकअर्कामा समर्पित हुने मात्रै नभएर पार्टी र परिवर्तनप्रति पनि उत्तिकै समर्पित हुने प्रतिबद्धता गरे। उनीहरुले विवाहमा हुने फजुल खर्चलाई १ लाखको अक्षय कोष जम्मा गरेर समाज रुपान्तरण कार्यमा लगाउने घोषणा समेत गरेका छन्।

विवाह कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सहसंयोजक तथा प्रवक्ता धर्मेन्द्र वास्तोला (कञ्चन) ले प्रगतिशील विवाहले समाजमा विद्यमान परम्पराको विरुद्धमा गएजस्तो देखाएपछि दिर्घकालिन पक्षलाई मजबुद बनाउने बताए। उनले नवविवाहीत बिष्ट दम्पत्तिले घोषणा गरेको अक्षय कोषको प्रशंसा गर्दै धन्यवाद समेत दिए।

यस किसिमको प्रगतिशील विवाहले महंगी बढेर विवाह गर्न नै नसकिने भयो भन्ने युवाजमातमा यसरी कम खर्चमा पनि विवाह गर्न सकिन्छ भन्ने एक किसिमको उदाहरण समाजमा प्रस्तुत गर्ने अखिल (क्रान्तिकारी) का नेता हस्त विकले बताए।

विभिन्न पार्टी, विद्यार्थी संगठनहरुका नेता, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का अध्यक्ष नरेन्द्र विश्वकर्मा, हास्य कलाकार सुवोध गौतम लगायतको उपस्थितिमा विवाह कार्यक्रम गरिएको थियो। विवाहको भोजमा समेत अत्यन्तै न्यून खर्च गरिएको थियो। कुनै क्याटरिङमार्फत नभएर संगठनका सबैजनाले आफैंले बनाउने, पकाउने, खुवाउनेदेखि भाडासम्म माझेर भोजको व्यवस्था गरिएको थियो। खानामा पनि चिउरा, मासु, र पेयपदार्थमा मोहीको व्यवस्था गरिएको थियो।