भारतमा निर्वाचनपछि भासिएको ‘गोदी मिडिया’

भारतमा निर्वाचनपछि भासिएको ‘गोदी मिडिया’


काठमाण्डु – २०१४ पछि भारत ‘गोेदी मिडिया’ भन्‍ने वाक्यांशबाट परिचित हुँदै आएको छ । म्यागसेसे पुरस्कार विजेता भारतीय पत्रकार रविश कुमार यो वाक्यांशको पहिलो प्रयोगकर्ता हुन् ।

यस वाक्यांशले प्रधानमन्त्री नरेन्द्र मोदीको काखमा रहेका मिडियालाई जनाउँदछ । जसको नाम ‘गोदी’ अर्तात् ‘काख’सँग मेल खान्छ ।

अमेरिकी विद्वान नोआम चोम्स्कीले आफ्नो पुस्तकमा भनेका छन् -‘प्रजातान्त्रिक राष्ट्रहरूमा सञ्चारमाध्यम वास्तवमै स्वतन्त्र नभएको र जनतालाई विशेषगरी राज्यको अतिक्रमणबारे जानकारी दिने काम गरेको छैनन् ।’

यसको सट्टा सञ्चारमाध्यम सरकार र व्यापारिक हितको पक्षमा ‘उत्पादन सहमति’ गरेर संलग्‍न हुँदै गएका छन् ।

‘आमसञ्‍चार भनेको बजार शक्तिमा भर परेर, सेल्फ सेन्सरसिप र प्रलोभन विना विशेष मोडलमार्फत प्रचारप्रसार गर्ने वैचारिक संस्था भएको छ’, पुस्तकमा अमेरिकी विद्वानले लेखेका छन् ।

भारतको मूलधारको मिडिया निसास्सिएको धेरै भइसक्यो । सन् २०१४ को निर्वाचनमा भाजपाले सुविधाजनक बहुमत ल्यायो । त्यसपछि मोदी शक्तिशाली प्रधानमन्त्री भए । मोदीका लागि मजबूत संसदीय गणित भारतीय मिडियाका लागि भार भयो । मिडियामा सत्ताको छाया मडारिन थाल्यो ।

सन् २०१९ को लोक सभा निर्वाचनमा भाजपाले बहुमत नल्याउने चर्चा थियो । तर भाजपा र मोदी अझ शक्तिशाली भएर उदाए । यसपछि भारतीय मिडियामा मोदीको दबदबा अझ बढेर गयो । धेरै सञ्‍चारगृह मोदीको इशारामा चल्न थालिसकेका थिए । मोदीको शासनप्रति आलोचनात्मक दृष्टि राख्‍ने एनडीटीभी थियो, जसलाई मोदी समर्थक व्यवसायी गौतम अडानीलाई बेच्‍न बाध्य तुल्याइयो । त्यसपछि एनडीटीभीले पनि सम्पादकीय मूल्यमान्यता अनुरूप काम गर्ने स्वतन्त्रता गुमायो । यस टेलिभिजनमा कार्यरत जल्दाबल्दा पत्रकार रवीश कुमार राजीनामा दिएर बाहिरिए ।

टेलिभिजनबाट बाहिरिएपछि रविश कुमारले भारतीय मूलधारको मिडियाको उपनाम जुराए, ‘गोदी मिडिया’ । तर ‘गोदी मिडिया’ ले के गरिरहेको हेर्नका लागि हालै सम्पन्‍न लोकसभाको निर्वाचनलाई हेर्नुपर्छ ।

चुनावी नतिजाले विपक्षीलाई अब उपेक्षा गर्न वा पहिले जस्तै आक्रमण गर्न सकिँदैन भन्ने आधार ‘गोदी मिडिया’ले पाएको छ ।

मिडियाले आफ्नो दायित्व भुल्दै मोदीको शक्ति सामु लत्रेर भक्तिगान गरेकोमा उनले यो शब्दावली प्रयोग गरेका थिए । यो शब्दावली यति चर्चित भयो कि मूलधारको मिडियालाई भाजपा समर्थकबाहेक इतर पक्षले ‘गोदी मिडिया’कै नामबाट पुकार्न थालियो । रवीशको नजरमा ‘गोदी मिडिया’को मिसन र भिजन एउटै थियो–नरेन्द्र मोदीको देवत्वकरण । मूलधारे मिडिया मोदीको काखमा लुटपुटिन पुग्दा मिडियाले आलोचनात्मक चेत गुमाए, प्रतिपक्षको काम र तिनको आवाजलाई उपेक्षा गरियो ।

अहिले विश्‍वभरिको १८० देशका मिडियाको र्‍यांकिङमा भारत १६३औं स्थानमा छ । लोकतन्त्र र मानव अधिकारबारे सधैं प्रश्‍नको घेरामा रहने कतिपय देशको मिडियाभन्दा भारतीय मिडियाको हैसियत कमजोर देखिनु विश्वकै ठूलो लोकतन्त्रका लागि विडम्बना हो ।

हालै भएको लोक सभा निर्वाचनको परिणाम मूलधारको मिडियाले अनुमान गरेको भन्दा फरक आएको छ । सरकारको दबाबमा वा सत्तालाई खुशी पार्न गरिएको अनुमानित आँकडा सही नहुनु अनौठो थिएन । मिडिया आंकलन गलत निस्किए पनि मोदीको भाजपा नै सबैभन्दा ठूलो दल बनेको छ, भलै यसको एकल बहुमत आएन । भाजपाले गठबन्धन दलसँग मिलेर सरकार बनाएको छ । अघिल्ला दुई निर्वाचनमा जस्तो बहुमत नआउँदा मोदीले जितेर पनि शक्ति गुमाएका छन् । अर्कातिर, विपक्षी गठबन्धनले हारेर पनि धेरै कुरा हासिल गरेको छ ।

लोकतन्त्रको सूचकांकमा भारतको स्थिति खस्किएको छ । यसको प्रमुख कारण भारतको मूलधारे मिडियाले लत्तो छोड्नु पनि हो । तेस्रो कार्यकाल सम्हाल्न आइपुग्दा मोदीको शक्ति खस्किएको छ । तुलनात्मक रूपमा मोदी कमजोर हुनु भारतीय मिडियाको स्वतन्त्रता होइन । मूल कुरा, सञ्‍चारगृहले सम्पादकीय मूल्यमान्यतामा डटेर काम गर्न सक्नुपर्छ । अन्यथा मोदीको खस्किएको शक्ति पनि मिडियाका लागि भारी नै रहिरहन्छ ।

विभाजनकारी वा साम्प्रदायिक सामग्रीले अन्य समाचारहरूको तुलनामा बढी टीआरपी प्राप्त गर्छ । तर ध्रुवीकरण गर्ने सामग्रीले दर्शकहरूको संख्यामा कुनै कमी ल्याउन सकेको छैन । नरेन्द्र मोदीको नेतृत्वमा व्यापक बहुमतवादले यस्तो अवस्था सिर्जना गरेको छ, जहाँ अस्तित्वको कट्टरतालाई विस्तार गर्न प्लेटफर्म दिएको छ ।