काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक जना सांसदले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् ।
नेकपाका सासद सुदन किरातीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै राजीनामा मागेका हुन् ।
‘सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ,’ किरातीले संसदीय समितिमा भने ।
बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
गत बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले एमसीसीबारे स्याल हुँइयाँ नफुक्न चेतावनी दिएका थिए ।
बास्कोटाले एमसीसीमा सैन्य गठबन्धन जोडिएको छ भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको बताएका थिए ।
‘एमसीसीमा सैन्य छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ,’ उनले भनेका थिए ।
प्रतिक्रिया