काठमाण्डु-कैलालीको धनगढीबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरी बस्ने वर्ष ४४ को दिपक गुप्ता र वर्ष ३४ को सुमित बर्मा रहेका छन् ।
उनीहरुको साथबाट ५४९.२०० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आइतबार विशेष सूचनाका आधारमा प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट दिपक गुप्ताले चलाएको भारतीय नम्बर प्लेट यूपी३२जेभी९२०० भएको कारलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखेको सुन जस्तो देखिने पदार्थ फेला परेको थियो।
उनीहरूको साथबाट ५४९.२०० ग्राम सुनका दुई टुक्रा, लिनोभो ल्याप्टप, रियलमी र रेडमी मोबाइल, नेपाली नगद ४४ हजार ८१०, भारतीय मुद्रा १ हजार २८० र सुजुकी कार बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिउपर छानबिन भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया