काठमाडौं – ‘यति धेरै कुरा सार्वजनिक भइरहेको छ, यति धेरै व्यक्तिलाई पक्राउ गरी अदालत ल्याइएको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ ?,’ जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाल बुधबार त्यसैको मुद्दा दर्ता गर्नुअघि पत्रकारहरूसँग जिज्ञासा राख्दै थिए।
सुनको खोजी कतै गरेको नदेखेपछि दुलालले मुख खोले, ‘यति जना पक्राउ, उति जना पक्राउ मात्रै भनिएको छ तर सबैको जिज्ञासा त्यो सुन कहाँ गयो भन्नेमै छ ।’ यो प्रकरणसँग शरीर बन्धक र हत्यासम्मका अपराध जोडिए पनि समग्र कारण सुन नै रहेकाले त्यो फेला नपरेसम्म वास्तविकता ओझेलमै रहने उनको भनाइ छ। विराटनगरबाट जितेन्द्र साहले लेखेको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
गत ९ माघमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको भनिएको तस्करीको ३३ किलो सुन ओसारपसारमा संलग्न भनिएका एक जनाको हत्या भइसकेको छ। उच्चपदस्थ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । उनीहरूलाई सुनको अवैध कारोबार, अपहरण, हत्या र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ । तर, त्यसको जड सुन कहाँ पुग्यो भन्ने रहस्य अदालतमा समेत खुलाइएको छैन।
कसैले त्यसलाई गलाएर बेचिएको भनेका छन् भने कतिपयले अन्यत्र पठाइसकिएको, गाडिएको वा विमानस्थलबाटै नबाहिरिएको जस्ता अनुमान गर्दै आएका छन्। अर्का थरीले मुख्य तस्कर र प्रहरीकै मिलेमतोमा गायब पारिएको अनुमान गरेका छन् । भरिया भनिएका व्यवसायी सनम शाक्यको हत्यारा पत्ता लगाउन सक्ने प्रहरीले सुन बरामद नगर्नुलाई ‘रहस्यमय’ भन्ने पनि छन्।
जिल्ला अदालत, मोरङमा एकै दिन यति धेरै जनाविरुद्ध मुद्दा दायर भएको यो पहिलो घटना भएको दुलालले बताए । अभियोगअनुरूपको दसीप्रमाण हेरेर मुद्दा दर्ता गर्न झन्डै तीन घण्टा लागेको थियो । एउटै इजलासमा पालैपालो बयान सकिन तीन दिनसम्म लाग्ने उनले बताए।
‘आरोपीको अदालतमा बयान नसकुन्जेल बोल्नसमेत समय छैन,’ मोरङका प्रहरी प्रमुख एसपी अरुण बीसीले भने, ‘प्रहरीले बयान गराएको कागजातको पहाड खडा भएको छ।’
प्रतिक्रिया