काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।
रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो । सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारी सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ।
समिति स्रोतका अनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो । प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारी र एउटा उनको सालो सञ्चालक रहेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समिति स्रोतले जनाएको छ ।
अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वलर्सको ३ वटा शाखामा छापा मारेको थियो । अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो ।
त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो । शाक्यको जवलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदी लगायतको गरगहना बरामद भएको थियो ।
प्रतिक्रिया