१ सय किलो र ९ किलो सुनका मुख्य अभियुक्तसंग प्रहरीका दुई पूर्व प्रमुखको निरन्तर सम्पर्क

१ सय किलो र ९ किलो सुनका मुख्य अभियुक्तसंग प्रहरीका दुई पूर्व प्रमुखको निरन्तर सम्पर्क


काठमाण्डु – १ सय किलो र ९ किलो सुन प्रकरणका अभियुक्तहरुसंग नेपाल प्रहरीका दुई जना पूर्व आईजीपीहरुको गहिरो सम्बन्ध रहेको पाइएको छ । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल र धीरजप्रताप सिंहको १ सय किलो सुन र ९ किलो सुनमा जोडिएका मुख्य अभियुक्तहरुसंगको सम्बन्ध पुष्टि हुने आधारहरु फेला परेको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् ।

‘दुवै जना सुन तस्करीका अभियुक्तहरुसंग निरन्तर सम्पर्कमा भएको प्रमाण फेला परेको छ । उहांहरु तस्करहरुसंग किन सम्पर्कमा बस्नुभयो त्यो त थप अनुसन्धानपछि मात्र खुल्छ । अव हेरौं प्रहरीले उहांहरुलाई वयानमा बोलाउंछकी बोलाउदैन् ।’ राजस्व अनुसन्धानका एक अधिकारीले भने ।

एक सय क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डौंको ठमेलबाट प्रक्राउ गरेको थियो । तिब्बती मूलका बेल्जियन नागरिक छिरिङलाई विभागले टोलीले पक्राउ गरेपछि धेरै विषय खुलेको हो । उनको साथमा रहेको मोबाइलबाट विभागको टोलीले महत्वपूर्ण डकुमेण्ट समेत फेला पारेको छ । उनले तीन वटा मोवाइल प्रयोग गर्ने गरेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।

दावा लामो समयदेखि सत्तारुढ दल माओवादी केन्द्रका उच्च नेताहरुको दबावमा बच्दै आएका थिए । उनले नेपालमा बसेर अवैध गतिविधि गर्दै आएपनि उच्च राजनीतिक नेतृत्व र प्रहरीका उच्च अधिकारीहरुको संरक्षणमा खुलेआम हिडिंरहेका थिए । उनी पैसाको बलमा जोगिंदै आएको प्रहरीका अधिकारीहरु नै स्वीकार गर्छन् ।

राजस्व विभागको टोलीले उनलाई पक्राउ गरेपछि धेरै विषय खुलेको हो । छिरिङको प्रहरीका आईजीपी धीरजप्रताप सिंहसहित उच्च अधिकारीहरुसंग सम्पर्क खुलेको छ । सिंह आईजीपी हुंदा पनि उनको फोन र म्यासेज आदान प्रदान भएको देखिएको छ । जसमा सिंहले ‘भाई किन फोन उठाएको भन्दै’ बारम्वार दावालाई एसएमएस पठाएका छन् । सिंह आईजीपीबाट हटेलगत्तै दावाले उनको नम्बर ब्लक गरेको पाईएको छ ।

पूर्व प्रहरी महानिरीक्षकले सिंहले भने सिआईबी हुंदा आफ्नो सम्पर्क भएको हुनसक्ने तर आईजीपी हुंदा उनको सम्पर्कमा नरहेको भन्दै आरोपलाई अस्वीकार गरेका छन् । ‘म उनलाई चिन्दैन । त्यो नामको मान्छेसंग सम्र्पक भएजस्तो पनि मलाई लाग्दैन । त्यस्ता नामका मान्छेहरु सिआईबीमा हुंदा सुचना लिन पनि आउने गर्थे । मलाई ठयाक्कै याद छैन ।’ सिंहले काठमाण्डुपाटीसंग भने ।

दावा प्रहरीको सरुवा बढुवामा समेत चलखेल गर्ने गरेको प्रहरीका एक अधिकारीले बताए । ‘पहिला पनि राजनीतिक नेतृत्व र प्रहरीका उच्च अधिकारीहरुसंगको सांठगांठमा बच्ने गरेका थिए । अहिले पनि यिनलाइै जोगाउन सबैतिरबाट कोशिस हुनसक्छ । ’ प्रहरीका एक उच्च अधिकारीले भने ।

सरकारले सय किलो सुन तस्करी प्ररकणको जिम्मा आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई जिम्मेवारी दिने तयारी गरेको छ । राजस्व अनुसन्धान विभागले प्रधानमन्त्रीलाई रिपोर्ट बुझाएर प्रधानमन्त्री कार्यालयले सिआईबीलाई पत्र पठाउने तयारी छ । प्रहरीले संगठित अपराध,अन्तर्देशीय अपराध र आतंकवादसंग यो विषय जोडेर अनुसन्धान गरेमात्र जरोसम्म पुगिने भन्दै यो जिम्मा आफुले पाउनुपर्ने दावी गर्दै आएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो मातहत वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छ । तर, सिआईबीले गरेको ९ किलो सुनको अनुसन्धानमा प्रश्न उठिरहेको बेला फेरी सय किलो सुनको अनुसन्धान समेत निष्पक्ष हुनेमा आशंका भने कायमै छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले समेत सत्तारुढ दलका नेताहरुले सुन तस्करी प्रकरणमा जोगाउने काम भएको भन्दै उच्चस्तरिय छानिविनको माग गर्दै आएको छ ।

९ किलो सुन प्रकरणमा माओवादी नेता कृष्ण बहादुर महरा र उनका छोरालाई बयानमा समेत नबोलाएको भन्दै प्रश्न उठेको छ । त्यतिमात्र होईन प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालको समेत त्यसमा संलग्नता धेरै देखिएको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् । तर, उनलाई समेत सिआईबीले सामान्य बयानमा समेत नबोलाएको आरोप छ ।

खनालको सुन तस्करीमा प्रक्राउ परेका अभियुक्तहरुसंग प्रत्यक्ष सम्पर्क देखिएको स्रोतले बताएको छ । त्यतिमात्र होईन यो प्रकरणका आरोपिलाई उनले भगाउन समेत भुमिका खेलेको प्रहरीका एक अधिकारीले काठमाण्डुपाटीलाई बताएका छन् । खनालले सिआईबीले प्रतिवादी भनेर राखेका दिपेश बस्नेतलाई भगाउन सहयोग गरेको पाइएको छ । उनै बस्नेतको एक सय किलो सुन प्रकरणमा समेत भुमिका देखिएको छ ।

बस्नेतसंग खनालले केही दिन पहिला मात्र भेटेको अनुसन्धानबाट समेत खुलेको छ । ‘राजस्व अनुसन्धानको टोलीले उनलाई पक्राउ गर्न सबै तयारी गरिसकेको थियो । तर, अन्तिममा प्रहरीबाटै सुचना लिग हुंदा उनि भाग्न सफल भए । ’ स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

उनलाई पक्राउ गर्न सकेको भए उनिबाट धेरै सुचना खुल्न सक्ने अनुसन्धानमा संलग्न अधिकारीले बताए । पूर्व प्रहरी महानिरीक्षक खनाल र दावा छिरिङको विचमा समेत राम्रो दोस्ती रहेको अनुसन्धानबाट खुलेको छ ।

खनाल प्रहरी महानिरीक्षक हुंदा नै उनलाई बचाउने काम भएको थियो । त्यो विचमा ठुलो आर्थिक लेनदेन भएको स्रोतको दावी छ । सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढेसंगै खनाल साउन ६ गते नै अमेरिका उडिसकेका छन् । यसबारेमा कुरा गर्न उनिसंग सम्र्पक गर्न खोज्दा सम्पर्क हुन सकेन् ।