काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले निरन्तर चौथो दिन नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महसंघले आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुन गत बिहीबार एक लाख ६२ हजार ४०० रुपैयाँ, बुधबार एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले पनि रेकर्ड ब्रेक गरेको छ । गत शुक्रबारको तुलनामा यस दिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसभन्दा पहिले गत असोज २० गते चाँदीको मूल्य एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।
प्रतिक्रिया