सुन तस्करीमा संलग्न : गोरेसहित ३ जनामाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु

सुन तस्करीमा संलग्न : गोरेसहित ३ जनामाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान सुरु


काठमाडौं – सुन तस्करीमा संलग्न चूडामणि उप्रेति ‘गोरे’सहित भुजुङ गुरुङ र छिरिङ वाङ्गेले आर्जन गरेको गैरकानुनी सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ र छिरिङ घलेलाई सोमबार विभागमा झिकाएर सम्पति छानविन प्रक्रिया अघि बढाएको जानकारी दिए । विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं झिकाएको थियो।

पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन। गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले अदालत र सम्बद्ध पक्षसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताए।

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तहरु हाल केन्द्रीय कारगारमा राखिएका छन्।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी .(प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।