सुन तस्करीमा संलग्न अधिकृतमाथी सशस्त्रका आईजिपीले लिए कडा एक्सन

सुन तस्करीमा संलग्न अधिकृतमाथी सशस्त्रका आईजिपीले लिए कडा एक्सन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) सञ्जीव मानन्धर सुन तस्करीमा संलग्न भएको खुलेपछि सशस्त्र मुख्यालयले विमानस्थलमा डीएसपीको कमान्डमा नयाँ टोली पठाएको छ । सशस्त्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका इन्स्पेक्टर दामोदर धोडारीको टोलीलाई फिर्ता बोलाई डीएसपी कृष्ण कर्माचार्यलाई खटाएको हो ।

 

कर्माचार्य सशस्त्र प्रहरी सुरक्षा महाशाखाअन्तर्गत खटिएका हुन् । गलत काम गर्ने व्यक्ति र निकायको सुराकी गर्ने जिम्मेवारी पाएका मानन्धर स्वयं सुन तस्करीमा मुछिएपछि अन्य सुरक्षाकर्मीमाथि पनि प्रश्न उठ्न थालेको छ । विगतमा त्रिभुवन विमानस्थलमा सेटिङमा काम गरेको आरोपमा तत्कालीन डीआईजी गोपाल भण्डारी, एसएसपीद्वय रविराज श्रेष्ठ र श्याम खत्रीसमेत निलम्बनमा परेका थिए । सुन तस्करीमा संलग्न भएको भनिएका सशस्त्रका सई मानन्धरविरुद्ध मुद्दा चलिरहेको छ ।

 

सुन तस्करी प्रकरणमा आफ्ना कर्मचारी संलग्न हुँदा संगठनको विश्वसनीयता र गरिमामा समेत आँच आएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विमानस्थलमा नयाँ टोली पठाएका हुन् । सशस्त्र प्रवक्ता राजु अर्यालले अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको टोली परिवर्तन गरिएको बताए । ‘त्यहाँ खटिएका १४ जनाको टोली फिर्ता बोलाएर नयाँ पठाइसकेका छौ उनले भने ।

सुन तस्करीमा संलग्न मानन्धरसमेत सुरक्षा महाशाखाअन्तर्गत कार्यरत थिए । सशस्त्र मुख्यालयमा उक्त महाशाखा इन्चार्जका रूपमा डीएसपी गोपी चन्द कार्यरत छन् । चन्दलाई तत्कालीन महानिरीक्षक कोषराज वन्तले इन्चार्ज बनाएका हुन् । लामो समयदेखि एउटै व्यक्तिलाई विमानस्थलमा सुराकीका रूपमा राख्नु नै संगठनको लापरबाही भएको भन्दै संगठनभित्रै आलोचना हुन थालेपछि सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले विमानस्थलको टोली परिवर्तन गरेका हुन् ।विमानस्थलमा सशस्त्रबाट खटिएका केही प्रहरीको लामो समयदेखि सरुवा भएको थिएन । मानन्धरसमेत लामो समयदेखि विमानस्थलमै थिए।

मलेसियन एयरलाइन्सबाट दुई किलो सुनसहित काठमाडौं आएका पोखराका लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङ पक्राउ परेपछि उनीहरूकै बयानका आधारमा सशस्त्रका सई मानन्धर पक्राउ परेका हुन् । रिजाली र गुरुङले ल्याएको सुन विमानस्थलबाट बाहिर निकाल्न मानन्धरलाई प्रयोग गरेका थिए । विमानस्थल प्रहरीले सुन आउँदै छ भन्ने गोप्य सूचनाका आधारमा रिजाली र गुरुङलाई ट्र्याकिङ गरेका थिए । अध्यागमनको अराइभल कक्षनजिकैको शौचालयमा सुन लुकाउन लागेपछि प्रहरीले रिजालीलाई दुई किलो सुनसहित पक्राउ गरेको थियो । आजको अन्नपुर्णमा खवर छ ।