सांसद सापकोटालाई पदबाट हटाउने चौथो प्रयास पनि असफल

सांसद सापकोटालाई पदबाट हटाउने चौथो प्रयास पनि असफल


काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पदबाट हटाउन गरेको चौथोपटकको प्रयास पनि असफल भएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीको सिफारिस चौँथोपटक पनि इन्कार गरेपछि प्रयास असफल भएको हो ।

जनमत पार्टीले सांसद सापकोटालाई हटाउन पेस गरेका कागजात विश्वसनीय नभएको भन्दै सभामुख घिमिरेले नहटाउने निर्णय गरेका हुन् ।

जनमत पार्टीले अनुशासन विपरीतको काम गरेको भन्दै सापकोटालाई कारबाहीको निर्णय गर्दै सांसद पदबाट पनि हटाउन माग गर्दै जनमत पार्टीका संसदीय दलका नेता राउतले सभामुखलाई पत्र पठाएका थिए ।

तर सभामुख घिमिरेले आज कम्बोडिया जानुअघि सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिए पनि सभामुख घिमिरेले इन्कार गर्दै आएका छन् ।