कालीकोट–किसानलाई पशुपालनमा आकर्षित गराउन कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो ।
पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिए । गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्दछन् । उनका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख गाई भैंसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो ।
गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ । सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रात्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष शाहले भने, “गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । गाउँमा गोठालोभन्दा हेपाहाका रुपमा लिइन्छ । यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ ।”
गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ ।
यस गाउँपालिकामा तीन हजार नौ सय १० घरपरिवारको सङ्ख्या रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने तीन हजार सात सय ९५ घरपरिवार रहेका छन् । गाउँपालिकाभित्र गाई, गोरुको सङ्ख्या चार हजार चार सय ३६ र राँगा, भैँसीको सङ्ख्या चार हजार दुई सय १० रहेको छ ।
प्रतिक्रिया