सरकारलाई लेखा समितिको निर्देशन : चिनीको मूल्य किलोको ६३ रुपैयाँ तोक्नु

सरकारलाई लेखा समितिको निर्देशन : चिनीको मूल्य किलोको ६३ रुपैयाँ तोक्नु


काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ तोक्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबारको बैठकले चिनीको मूल्यमा एकरुपता नदेखिएको र कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको भन्दै सरकारलाई न्युनतम मूल्य तोक्न निर्देशन दिएको हो।

लेखा समितिले बजारमा चिनीको अवस्थाबारे बुझ्न सांसद लेखराज भट्टको संयोजकत्वमा एक समितिसमेत बनाएको छ। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ।

समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेको छन्। उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय सीमा दिइएको छ। बैठकले चिनीको मूल्य ६३ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बैठमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गरेका छन्।

उनीहरुले सरकारले चिनीको बजार मूल्य ६३ भन्दा माथि नजाने भन्दा भन्दै अहिले के कारणले ८० माथि पुग्यो ? भन्ने प्रश्न गरेका थिए।