काठमाण्डु- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झन पेचिलो बनेको छ । सरकारले गभर्नर नियुक्ति गर्न रुची नदेखाएपछि गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । उनि सुरुदेखि नै समितिमा असन्तुष्ट थिए ।
समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेल र विज्ञ सदस्यमा विजय पौडेल थिए । अर्थमन्त्री पौडेलले अहिलेसम्म समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषदको चैत १८ मा बसेको बैठकले गभर्नर सिफारिस समिति गठन गरेको थियो । तर, त्यसयता सत्तारुढ दलभित्र नियुक्तिमा सहमति नजुट्दा समितिलाई पंगु बनाउने काम भएको भन्दै आलोचना भएको थियो ।
सत्तारुढ दल एमाले र नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिमा सहमति भएको समाचार बाहिरिएको थियो । दुवै दलबीच गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपनि त्यसमा आ आफ्नै खेलमा नेताहरु सक्रिय भएका छन् । बिचौलियाहरु आफु निकट उम्मेदवार बनाउन लागेका छन् । त्यसैको प्रभावस्वरुप नियुक्ति रोकिएको स्रोतको दावी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नीलम ढुंगाना वा युवराज खतिवडालाई गर्भनर बनाउने खेलमा छन् । कांग्रेस सभापति देउवा भने भट्टलाई बनाउनेमा छन् । कांग्रेस नेता प्रकाशशरण महतलगायत ज्ञानेन्द्र ढुंगानाको पक्षमा लविङ गरिरहेका छन् ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ मा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनु १ महिनाअगावै नियुक्ति गरिसक्नुपर्ने भएपनि भागबण्डा नमिल्दा समस्या भएको हो ।
गभर्नर नियुक्तिको विषयमा सोमबार महान्यायाधीवक्तासहित समेत छलफल भएको थियो । छलफलमा गृहमन्त्री रमेश लेखक समेत सहभागी थिए ।
गभर्नर नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट परेको भन्दै अहिले प्रक्रिया अघि बढाउन नहुने पक्षमा महान्यायाधीवक्ता केशव वडाल रहेको बताइएको छ ।
प्रतिक्रिया