काठमाण्डु – नेपाल राष्ट्र बैंक दुई दिनदेखि गर्भनर विहीन बनेको छ । गभर्नरबाट महाप्रसाद अधिकारी कार्यकाल सकाएर विदा भएको ३ दिन बित्न लाग्दा पनि सरकार कसलाई नयाँ गर्भनर बनाउने भन्ने निचोडमा पुग्न सकेको छैन ।
चैत्र २५ गते ५ वर्षे कार्यकाल सकिएपछि अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन्।
आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नरको टुंगो लगाउने सम्भावना रहेको थियो । तर, सत्ता गठबन्धनमा नै कुरो नमिल्दा आजको बैठकले गभर्नर टुंगो लगाउने सम्भावना न्यून बनेको छ ।
सोमबार अपराह्नसम्म कसलाई गर्भनर बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आ–आफ्नो अडान नछोडेको बताइएको छ ।
देउवा र परराष्ट्रमन्त्री आरजु राणाले राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टलाई र प्रधानमन्त्री ओलीले निलम ढुङ्गानालाई गभर्नर बनाउने अडान राखेको उच्च स्रोतले जानकारी दियो । ढुङ्गानालाई गभर्नर बनाउन व्यापारी दीपक भट्टको समेत जोडबल छ ।
यद्यपी, आजै अर्थ मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कामु गभर्नरको जिम्मेवारी थमाएको छ ।
स्रोतका अनुसार नयाँ गभर्नर बन्ने चर्चामा पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, निलम ढंगाना र प्रकाश श्रेष्ठको नाम रहेको छ ।
गभर्नर चयन गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य रहेको सिफारिस समिति बनेको थियो । तर, उक्त समितिको अहिलेसम्म पहिलो बैठक वस्न सकेको छैन् ।
प्रतिक्रिया