काठमाण्डु – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई सरकारलाई असहयोग गरेको आरोप लगाउंदै निलम्बन गरिएको हो । अधिकारीको बारेमा छानविनगर्न राष्ट्र बैंक ऐनको दफा २३ अनुसार जांचबुझ समिति समेत गठन भएको छ । सरकारले पूर्व प्रधान्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यिय समिति गठन गरेको छ । समितिमा डा.सुर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् ।
पूर्व प्रधान्यायाधीश भण्डारी माओवादी निकट हुन् । उनको अर्थमन्त्री जनार्दन शर्मासंग निकट सम्बन्ध छ । जांचबुझ समितिले गर्भनर अधिकारीसंग सोधपुध गर्ने तयारी गरेको छ ।
उनलाई प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसंग निकट सम्बन्ध रहेको आरोप लाग्दै आएको थियो । गर्भनरलाई हटाउने निर्णयको भने सर्वत्र विरोध भएको छ । पुर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले स्वायत्त निकायमा सरकारले हस्तक्षेप गरेर गल्ती गरेको बताए । उनले यसले थप अस्थिरता निम्ताउने बाहेक अरु केही नहुने दावी गरे ।
पूर्व अर्थसचिव शान्तराज सुवेदीले गभर्नरको निलम्बन अत्यन्तै दुर्भाग्यपूर्ण भएको भन्दै सरकारले गर्नै नहुने काम गरेको बताएका छन् ।
एमाले नेता विष्णु रिजालले समेत गर्भनर निलम्बनको कडा शब्दमा विरोध जनाएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘तस्करीको लाइन खुलाएर अर्थतन्त्र ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले टाउको दुखेको औषधी नाइटोमा लगाएको छ । यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन । ’
अर्थमन्त्री शर्मा र गर्भनर अधिकारीको सुरुदेखी नै सुमधुर सम्बन्ध थिएन । उनलाई एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले २०७६ चैत्त २४ मा गर्भनर नियुक्त गरेको थियो । प्रतिस्थापन विद्येयक ल्याउने भन्दै मौद्रिक नीति नल्याउन शर्माले उनलाई निर्देशन दिएपनि अधिकारीले त्यसलाई नमानेपछी विवाद त्यहीबाट सुरु भएको थियो ।
अर्थमन्त्री शर्मालाई हटाउने तयारी भएको चर्चा भइरहेको बेला सरकारले अधिकारी हटाउने निर्णय गरेर डेपुटी गर्भनर निलम ढुंगानालाई कामुको जिम्मा दिएको छ ।
पछिल्लो समय अर्थतन्त्र संकटमा गएपछी अधिकारीले समाधानका उपायहरुको बारेमा सरकारलाई सुझाव दिएका थिए । तर, शुक्रबार भने मन्त्री र गर्भनरबीच सार्वजनिक मन्चमै दोहोरी नै चलेको थियो । अधिकारीले श्रीलंकाको बाटोमा नेपाल गएको भनेपछी अर्थमन्त्री शर्माले कतिपयको चाहना त्यो भएको भन्दै त्यस्तो संकट नरहेको दावी गरेका थिए ।
अछाम घर भएका पृथ्वी बहादुर शाहको अमेरिकाबाट आएको ४० करोड रुपैयालाई लिएर समेत शर्माले राष्ट्र बैंकका अधिकारीहरुले कमिसन मागेको आरोप लगाएका थिए । अर्थमन्त्रीले यो अभिव्यक्ति दिनुभन्दा पहिले नै उनलाई हटाउने तयारी भइसकेको थियो । त्यसैले शर्माले राष्ट्र बैंकका अधिकारीहरुमाथी आरोप लगाएका थिए ।
गर्भनर अधिकारी सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा रहेको स्रोतले बताएको छ । उनले आफु निकट कानुन व्यवसायीहरुसंग परामर्श गरिसकेका छन् ।
प्रतिक्रिया