काठमाण्डु – नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले अहिलेको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । कोइरालाले देशको राजनीतिक र आर्थिक परिस्थिती अत्यन्त नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
सुमन कर्माचार्यको कात्रोमा खत्री पुस्तकको लोकार्पण गर्दै नेता कोइरालाले हरेक ठाउंमा विचौलियाहरुको विगविगी भइरहेको र देशमा सुशासनको अवस्था समेत नाजुक भएको दावी गरे ।
उनले भने ‘हरेक तप्काका विचौलियाहरुको विगविगी भएको छ । हुंदा हुंदा अहिले राष्ट्र बैंकको गर्भनर बनाउन समेत विचौलियाहरु चलखेल गर्न लागेको छन् भन्ने आइरहेको छ । यो अत्यन्तै गम्भिर विषय हो । म त्यसो नगर्न सरकारलाई चेतावनी दिन चाहन्छु । ’राष्ट्र बैंकको गभर्नरको लागि अहिले विचौलियाहरु आफु निकट व्यक्तिलाई लिएर लविङमा लागेको बेला कोइरालाको यस्तो भनाई आएको हो ।
उनले यदि यो कुरा सहि हो भने नेपालकै लागि दुर्भाग्य हुने बताए । उनले विचौलियाका उम्मेदवारलाई गर्भनर नबनाउन समेत चेतावनी दिए । कोइरालाले यसबाट अर्थतन्त्रलाई ठुलो असर पर्ने बताएका छन् ।
गभर्नरका लागि स्वार्थ समुहले नियम नै संशोधन गराएका थिए । जसमा राजेन्द्र किशोर क्षेत्री र निलम ढुंगाना एउटा समुहले, रविन्द्र पाण्डेलाई अर्को समुहले र ज्ञानेन्द्र ढुंगानालाई पनि सांसद विनोद चौधरीले गभर्नरका लागि अघि सारेका थिए ।
गभर्नर नियुक्तिमा सत्तारुढ दलको विचमा अहिलेसम्म सहमति हुन सकेको छैन । जसका कारण अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले समेत तीन जनाको नाम समेत सिफारिस गर्न सकेको छैन ।
अहिले स्वार्थ समुहले ढुंगानालाई साझा उम्मेदवार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई मनाउने प्रयास गरिरहेको स्रोत बताउंछ । त्यही समुहले पुर्व मुख्यसचिव क्षेत्रीलाई गर्भनर बनाउन नियम नै संशोधन गरेको थियो । त्यसमा सबैबाट विरोध भएपछि उनिहरुले ढुंगानालाई उम्मेदवार बनाएका हुन् ।
प्रतिक्रिया