काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् ।
बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय सभाको यो दलको बैठक हो । यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पस्ट हुन चाहेका थियौं उहाँले स्पस्ट पार्नुभयो ।’
उनले सांसदलरुले आफूलाई लागेका प्रश्नहरु सोधेको र मन्त्री ज्ञवालीले त्यसको जवाफ दिएको जानकारी दिए ।
सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायतासम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ । खासगरी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिभित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ ।
पार्टीभित्र विवाद बढेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने समर्थन जनाएको छ । कांग्रेसले एमसीसी नेपालको हितमा रहेका कुनै पनि हालतमा सदनबाट पास गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया