रवि लामिछानेलाई रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्रीको भनाइ

रवि लामिछानेलाई रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्रीको भनाइ


पाल्पा– गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको बताएका छन् ।

बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताए ।

भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जोड थियो । ‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन । यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो । यो त्यसैले बनेको हो,’उनले भने ।

प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिएको उनको भनाइ छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्री लेखकले बताए । ‘जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान हुन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेको छ । त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ ,’ उनले भने। राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेको इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए ।

कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्माविश्वास बढेको संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागिपरेको उनको भनाइ छ ।