विगतका वर्षमा भन्दा यो वर्ष सुरक्षाको अवस्था सुदृढ बनाउने गृहमन्त्रीको प्रतिवद्धता

विगतका वर्षमा भन्दा यो वर्ष सुरक्षाको अवस्था सुदृढ बनाउने गृहमन्त्रीको प्रतिवद्धता


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चाडपर्व लक्षीत गर्दै विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले जनताको सबैभन्दा बढी आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक २ महिनाका लागि विशेष सुरक्षा योजना नै तय गरिएको पनि जानकारी दिए ।

उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताउँदै चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताए ।

गृहमन्त्री थापाले सुरक्षित यात्राका लागि राजमार्गहरुमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृतिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको पनि समितिलाई जानकारी दिए । त्यसैगरी सरकारले भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरुको सहयताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको पनि जनाएको छ ।