ग्रीजम्यानको आगमनले एट्लेटिकोलाई राहत

ग्रीजम्यानको आगमनले एट्लेटिकोलाई राहत


एजेन्सी – युरोपेली फुटबलमा खेलाडीको ‘समर ट्रान्सर’ मंगलबार रातिबाट सकिएको छ । यसपटक ला लिगाको समर ट्रान्सर बजार विगतको जस्तो तातेन । ला लिगा मात्र होइन, कोरोना महामारीले समग्र युरोपेली फुटबललाई सिथिल बनायो । जसले गर्दा क्बलहरु खेलाडीका लागि चर्को मुख्य खर्चन डराए ।

समर ट्रान्सरको अन्तिम दिनसम्म पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवास्टार केलियन एमबाप्पे खुबै चर्चामा रहे । एमबाप्पेलाई अनुबन्ध गर्न रियल म्याड्रिडले अन्तिमसम्म प्रयास जारी राख्यो । तर रियलको तीन पटकसम्मको प्रस्तावलाई पीएसजीले इन्कार गरेको छ ।

एमबाप्पेका लागि पहिलो पटक एक सय ६० मिलियन युरो प्रस्ताव गरेको रियलले दोस्रो पटक एक सय ७० मिलियन युरो खर्चन तयार भयो । एमबाप्पेका लागि तेस्रो पटक समेत मोटो रकमको प्रस्ताव लगेको रियल अन्तिममा सफल बन्न सकेन । पीएसजीले एमबाप्पेलाई क्लबमै राख्न चाह्यो ।

२२ बर्षीय एमाबप्ले पीएसजी छाड्न चाहन्थे । टोलीमा बार्सिलोनाका कप्तना लियोन मेस्सी छिरेपछि एमबाप्पेको पीएसजी छाड्ने ठूलो चाहना थियो । रियल र एमबाप्पेको चाहना यसपटक पनि सफल भएन । पीएसजीमा एकबर्ष सम्झौता बाँकी रहेका एमबाप्पे अर्को सिजन फ्री ट्रान्सफरमा रियलनै जाने योजनामा छन् ।

यता वित्तिय अवस्था खराब भएको बार्सिलोनाबाट यससिजन ११ जना खेलाडीले क्लब छाडेका छन् । कप्तान लियोनल मेस्सी पीएसजी गएको दुई सातापछि फ्रेन्च स्टार एन्टोइन ग्रीजम्यान पूर्व क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन् । एट्लेटिकोले अन्तिम समयमा आफ्नो पूर्व स्ट्राईकर ग्रीजम्यानलाई अनुबन्ध गरेको हो ।

ट्रान्सरको अन्तिम दिन बार्सिलोनाले ग्रीजम्यानसँगै रक्षक एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिवालाई पनि बेचेको छ । लोनमा बेटिसमा रहेका एमर्सन प्रिमियर लिग क्लब टोट्टनहाम र मोरिवा जर्मन क्लब लेइपजिग गएका छन् ।

३० बर्षीय ग्रीजम्यानलाई एट्लेटिकोले एक बर्षका लागि लोनमा फर्काएको हो । यसअघि सन् २०१४ देखि २०१९ सम्म एट्लेटिकोमा रहेका ग्रीजम्यानले टोलीका लागि दुई सय ५७ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए ।

उनी सन् २०१९ मा एक सय २० मिलियन युरोमा बार्सिलोना गएका थिए । बार्सिलोनामा ग्रजिम्यानले एक सय दुई खेल खेल्दै ३५ गोल गरे । यस सिजन बार्सिलोनामा तीन खेल खेलेका उनी गोल बिहिन बने ।

बार्सिलोनामा मेस्सीको छाँयामा परेका ग्रीजम्यानले मेस्सीले छाडेपछि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको थियो । तर डच स्ट्राईकर मेम्फिस डिपाए यसैसिजन बार्सिलोना आएपछि ग्रजिम्यान फेरि डिपाएको छाँयामा परे ।

ग्रीजम्यानको आगमनले साविक विजेता एट्लेटिकोलाई ठूलो राहत मिलेको छ । रोजाईका स्ट्राईकर लुइस स्वारेज घाइते भएका कारण ग्रीजम्यानले उनको स्थान लिने विश्वास गरिएको छ ।

उरुग्वेली स्टार स्वारेज आइतबार भिल्लारियलबिरुद्धको खेलमा घाइते भएका थिए । देब्रे घुडामा चोट बोकेका स्वारेज दुई साता मैदान बाहिर रहने एट्लेटिकोले जनाएको छ ।

स्वारेजले गोल गरेको उक्त खेलमा एट्लेटिको २–२ गोलको बराबरीमा रोकिएको थियो । स्वारेज गत सिजन बार्सिलोनाबाटै एट्लेटिको आएका हुन् । एट्लेटिकोलाई ला लिगा उपाधि जिताउन ३४ बर्षीय स्वारेजको उल्लेख्य भूमिका रहेको थियो ।

यस पटक एट्लेटिकोलाई उपाधि रक्षा गर्न स्ट्राईकिङ लाइनमा जोआओ फेलिक्स, एन्जल कोरेआका र म्याथिस कुन्हाको बलियो साथ छ । त्यसैले ग्रीजम्यानलाई यीनैसँग टिक्नु पर्ने चुनौती छ ।