काठमाण्डु – नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर भट्टलाई नियुक्ति गर्न खोजिएको भन्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दर्ता भएको छ ।
बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टलाई गभर्नर नियुक्त गर्न खोजिएपछि सर्वाेच्चमा पुरक रिट निवेदन परेको हो ।
गत फागुन २७ गते सरकारले गभर्नरको नियुक्तिमा समेत लागू हुने गरी मापदण्ड संशोधन गरेको भन्दै सर्वोच्चमा परेको रिट परेकोमा सोही रिटमाथि पुरक निवेदन परेको हो । गत मंगलबार सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै संशोधित मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
रिट निवेदकहरू प्रतिभा उप्रेती र विशाल थापाले डा. भट्टलाई गभर्नर नियुक्ति गर्न खोजेको भन्दै त्यसलाई रोक्न माग गर्दै शुक्रबार पुरक निवेदन दर्ता गराएका छन् । डा. भट्ट गभर्नर नियुक्त हुने चर्चाबीच शुक्रबार उनले बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् ।
पुरक निवेदनमा सत्तारुढ दलहरूले गभर्नर पदमा राजनीतिक सौदाबाजी गरेको आरोप लगाइएको छ । आईजीपी र गभर्नर पद कांग्रेस–एमालेले बाँडफाँट गरेको चर्चाका आधारमा निवेदन दायर गरिएको छ ।
मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मापदण्ड कार्यान्वयन नगराउन अल्पकालीन आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने विषयमा सर्वोच्चले आईतबार दुवै पक्षलाई बोलाएको छ, सोही मौकामा पुरक निवेदनमाथि समेत छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया