काठमाडौ- बुधबार राति गौशलाबाट प्रहरीले प्रयोग गर्ने पेस्तोलसहित पक्राउ परेका गणेश लामालाई रिहाइ गर्न नेपाली कांग्रेसका नेताहरुले माग गरेका छन् ।
शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ गर्न कांग्रेसका नेताहरुले माग गरेका हुन् ।
नियमित व्यायाम गरेर घर फर्कने क्रममा उनीमाथि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भइ पक्राउ गरिएको भन्दै नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले लामालाई तत्काल रिहाइ गर्न माग गरे ।
उनले आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिए ।
उनले भने,‘ नियमित व्यायाम गरेर घर फर्कने क्रममा उनीमाथि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भइ पक्राउ गरिएको छ । उनको तत्काल रिहाइ नभए हामी सडकदेखि सदनसम्म आन्दोलन गर्छौं । ’
आचार्यले सरकारले दुई तिहाई बहुमतको आडमा प्रमुख प्रतिपक्षमाथि दमनको नीति लिएको आरोप समेत लगाए । लामा बुधबार राति गौशलामा एक थान प्रहरीले प्रयोग गर्ने पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ परेका थिए ।
लामालाई महानगरीय प्रहरी परिसरले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरी अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया