गुण्डा नाइकेका सहयोगी सत्यमान प्रहरीको नियन्त्रणमा 

गुण्डा नाइकेका सहयोगी सत्यमान प्रहरीको नियन्त्रणमा 


काठमाडौं– काडमाडौं प्रहरीले अर्का गुण्डा नाइकेलाई पक्राउ गरेको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी रहेका सत्यमान लामा पक्राउ परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको जनाएको छ । उनको बारेमा परिसरमा उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
लामाथी यसअघि रक्तचन्दन तस्करी गरेको आरोप लागेको थियो । त्यसैगरी बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न भएको उनिमाथी अभियोग छ ।
गुण्डा नाइके दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको प्रहरीको दाबी छ ।
उनी बिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ । थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।