सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग

सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग


काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीबाट सार्वजनिक अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।

उनले शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि भए त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने उल्लेख गर्दै थप लेखेका छन्, ‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्यतथ्य बङ्ग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न सबैलाई अनुरोध गर्दछ ।’

मन्त्री गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादु्र कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षक कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए । सरकारको प्रवक्ता भएकाले बोल्दा ध्यान पु¥याउन प्रधानमन्त्री ओलीले गुरुङलाई सचेत गराएका थिए । गुरुङलाई ओलीले आइन्दा त्यस्ता अभिव्यक्ति नदिन पनि भनेका थिए ।