सहकारीमा गल्ती नगर्नेले तर्सिनु पर्दैन : प्रवक्ता गुरुङ

सहकारीमा गल्ती नगर्नेले तर्सिनु पर्दैन : प्रवक्ता गुरुङ


गण्डकी– सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीमा गल्ती नगर्नेले तर्सिनु नपर्ने बताएका छन् ।

नेपाल मगर संघ गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको स्मरण गरे ।

उनले भने, ‘न्यायिक प्रक्रियामा साथ दिनुहोस्, डराउनुपर्दैन, जनताको पैसा हिनामिना गर्नुभएको छैन भने नडराए हुन्छ ।’

सहकारीमा ठगीमा संलग्न जोकोही कानूनी कारबाहीको दायरामा आउनुपर्ने बताउँदै उनले भने, ‘जसले सहकारी बचतकर्ताको रकम ठगेको छ, त्यो जुनसुकै दलको भए पनि पार्टीको छाता ओढेर छुट पाउने छैन ।’

उनले भाषा, संस्कृतिहरू हाम्रो पहिचान भएको बताए । आदिवासी, जनजातिहरूको संस्कृति जगेर्नासँगै उनीहरूका हकहितको संरक्षणलाई लक्षित गरी सरकारले विभिन्न आयोगहरू बनाएको जनाउँदै उनले त्यसको व्यावहारिक उपयोग हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।