कांग्रेस–एमालेको सरकार आगामी निर्वाचनसम्मै रहन्छ : सञ्चारमन्त्री गुरुङ

कांग्रेस–एमालेको सरकार आगामी निर्वाचनसम्मै रहन्छ : सञ्चारमन्त्री गुरुङ


लमजुङ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि गठन भएको कांग्रेस र एमालेको संयुक्त सरकार आगामी निर्वाचनसम्मै रहने बताएका छन् ।

शनिबारदेखि सुरु भएको राष्ट्रिय युवासंघ नेपाल गण्डकी प्रदेशकोे प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि २ ठूला दल मिल्नुपरेको स्पष्ट पारे ।

सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले १ महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिने गरी काम गर्न निर्देशन दिएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ । उनले विकासका कार्यक्रमलाई तीब्र रूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको बताए ।

कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवासंघका पूर्व अध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिए । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उनको भनाइ छ ।

संघका पूर्व केन्द्रीय अध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने बताए । एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवासंघले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने बताए ।