गुठी विधेयक ल्याउने तयारी

गुठी विधेयक ल्याउने तयारी


काठमाण्डु- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरूलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकूल बनाउने काम मन्त्रालयले शुरु गरिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिइन् । नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र मस्याग्रस्त सहकारीहरुको उचीत वयवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिँदै यस अनुरूप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन् ।

उनले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फ सहकारीहरु लाग्नु पर्नेमा जोड समेत दिइन् ।