काठमाण्डु – तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा क्षति, फोहोर र प्रदूषण गरिएको भन्दै काठमाण्डु महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९२ हजार रुपैयाँ जरिवाना गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रको निवास निर्मल निवासमा पत्र पठाउँदै महानगरले विभिन्न स्थान र विभिन्न कार्यबापत छुट्टाछुट्टै जरिवाना गरेको छ ।
महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले पठाएको पत्रमा निजी सम्पत्तिको क्षतिपूर्ति स्थानीय सरकारको क्षेत्राधिकारभित्र नभएको उल्लेख गरिएको छ, त्यसैले जरिवाना निजी सम्पत्तिको क्षतिपूर्तिको विषय उल्लेख छैन ।
महानगरले सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेबापत १ लाख, तीनकुने क्षेत्रमा रहेका रुख, विरुवा, रेलिङ्ग तोडफोड गरेबापत ४० हजार, आईल्याण्डमा तोडफोड गरेबापत २३ हजार रुपैयाँ, बालकुमारी क्षेत्रमा फोहोर गरेबापत १ लाख रुपैयाँ, जडिबुटी क्षेत्रमा फोहोर गरेबापत १ लाख रुपैयाँ, तीनकुनेमा फोहोर गरेबापत १ लाख रुपैयाँ, दमकल र अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा प्रहार गरी दमकलमा क्षति पुर्याएबापत १ लाख ३० हजार रुपैयाँ, महादेवस्थान क्षेत्रमा फोहोर गरेबापत १ लाख रुपैयाँ र कोटेश्वर क्षेत्रमा फोहोर गरेबापत १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
काठमाण्डु महानगरले विगतमा सार्वजनिक कार्यक्रम गर्दा फोहोर गर्ने संस्थासँग पनि जरिवाना लिँदै आएको थियो ।

प्रतिक्रिया