काठमाण्डु-पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्रै महिना नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने आफ्नो चाहना पूरा हुन नसक्दा दुःख लागेको बताएका छन् ।
विजया दशमीको उपलक्ष्यमा बुधबार शुभकामना सन्देश जारी गर्दै पूर्वाराजा शाहले सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने आफ्नो चाहना रहेको बताएका हुन् ।
सन्देशमा भनिएको छ, ‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।’
नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
सन्देशमा भनिएको छ, ‘हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ ।’
प्रतिक्रिया