यी प्रभावकारी उपाय जसले कपाल झर्ने समस्या रोक्छ

यी प्रभावकारी उपाय जसले कपाल झर्ने समस्या रोक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन् ।

आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्छ । कपाल झर्ने समस्या नहुने कोही पनि हुँदैनन् । अमेरिकी जर्नल डर्माटोलजिक सर्जरीका अनुसार १८–२९ उमेरका १६ प्रतिशतभन्दा बढी पुरुषले कपाल झर्ने समस्या झेल्ने गरेका छन् ।

त्यो बढेर ३०–३९ उमेरका ३० प्रतिशत पुरुषमा त्यो समस्या देखिन्छ भने ४०–४९ उमेरका करिब आधाजति पुरुषले कपाल झर्ने समस्या झेल्छन् ।

चिकित्सकहरूले भन्ने गरेको ‘एलपीशा’ अर्थात् कपाल झर्ने समस्या पुरुषमा हुँदा बढी चर्चा हुने गर्छ, तर महिलाहरूमा पनि कपाल झर्ने समस्या सामान्य नै हुन्छ ।

अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका अनुसार जिन्दगीको कुनै न कुनै बिन्दुमा एक तिहाइ महिलाहरूले पनि कपाल झर्ने समस्या भोग्छन् ।


कसरी रोक्ने ?

छालारोग विशेषज्ञ डा. आँचल पन्थका अनुसार कपाल झर्ने समस्यालाई रोक्न सबैभन्दा पहिला कुनै व्यावसायिक व्यक्तिलाई देखाउनुपर्छ किनकि उनीहरूका सुझावअनुसार तपाईँ आफ्नो दैनिक जीवनमा थुप्रै परिवर्तन ल्याउन सक्नुहुन्छ ।

डाक्टरहरूका अनुसार कपालको वृद्धिका लागि उच्च प्रोटीनयुक्त खानेकुरा महत्त्वपूर्ण हुन्छ । यदि तपाईँमा कुनै प्रकारको पोषणको कमी छ भने कपाल झर्नबाट रोक्न सबैभन्दा पहिला त्यसको उपचार गर्नुपर्ने हुन्छ ।

कपाल झर्ने समस्या देखिनासाथ धेरै मानिसले मिनक्सिडिलजस्ता रसायन भएका ‘टपिकल क्रीम’हरू अथवा क्याफीनमा आधारित उत्पादनहरू प्रयोग गर्न थाल्छन् ।

मिनक्सिडिल सामान्यतया तरल अथवा फिँजको स्वरूपमा प्रयोग हुन्छ । त्यसले कपालका जराहरूमा रगतको प्रवाह बढाउने गरेको पाइन्छ, जसले केश बढ्नमा मद्दत पुर्‍याउँछ ।

यसले कपाल पातलिने समस्या कम गर्न मद्दत गर्न सक्ने भए पनि त्यसले नयाँ कपाल नउमार्ने डा. पन्थ बताउँछिन् ।

खास गरी पुरुषहरूको हकमा कपाल झर्नबाट रोक्नका लागि कीटोकोनजोलको प्रयोग गरिन्छ ।

विज्ञहरूका अनुसार चायाको उपचारका लागि पनि त्यो राम्रो विधि हो किनकि चायाका कारण हुने सुजनले कपाल झर्ने समस्यालाई अझै नराम्रो बनाउन सक्छ ।

मिनक्सिडिलभन्दा फरक कीटोकोनजोल ‘एन्टिफङ्गल’ औषधि हो, जुन खास गरी तालुमा हुने ‘फङ्गल इन्फेक्शन’ अर्थात् एक प्रकारको ढुसीको उपचारमा प्रयोग गरिन्छ ।

कतिपय अध्ययनहरूका अनुसार कपाल झर्ने समस्यासँग सम्बन्ध भएको डीएचटी होर्मोनको स्तर पनि यसले घटाउन सक्छ ।

जीवनशैलीमा परिवर्तन

कपाल झर्ने समस्या समाधानका लागि कपालका किसिमबारे जानकारी महत्त्वपूर्ण हुन्छ ।

अफ्रिकन कपालबारे विशेषज्ञता हासिल गरेकी विज्ञ एगिडीका अनुसार टाइट, हेबी ब्रेड्स र हीट जस्ता हेअरस्टाइलले चाँडै कपाल झर्नुमा भूमिका खेल्न सक्छ ।

कपाल बढ्नुमा फोलिकलहरूको भूमिका हुन्छ । तर तिनले तालुका घाउ निको पार्ने र छाला पुनः उत्पादन गर्ने काम पनि गर्छन् । कपाल झर्ने समस्यालाई अझ बल्झाउन सक्ने भनेका धूमपान, मदिरापान, तनाव र निद्राको कमी हुन् ।

धूमपानले भेजोकन्स्ट्रिक्शन नामक अवस्था निम्त्याउँछ, जसले तपाईँका अङ्गहरूमा रगतको प्रवाह घटाउँछ र यो समस्या तालुमा पनि हुन सक्छ ।

नियमित रूपमा तालु सफा नगर्दा पनि कपाल झर्ने समस्या निम्तिन सक्छ । कपाल ननुहाएर जीउ नुहाएको बेला पनि कपाल झरिरहेको हुन सक्छ ।

यदि तालु चिल्लो खालको छ भने हरेक दिन अथवा एक दिन बिराएर कपाल नुहाउँदा राम्रो हुने डाक्टरहरूको सुझाव छ ।

कपाल प्रत्यारोपण समाधान हो?

कपाल प्रत्यारोपण सौन्दर्यसम्बन्धी शल्यक्रिया हो । मानिसहरूले प्रायः आफ्नो रूपप्रति आत्मविश्वास फर्काउनका लागि प्रत्यारोपण गराउँछन् ।

महँगो लागतबीच कपाल प्रत्यारोपण लोकप्रिय रहेको छ किनकि यसले सबैभन्दा राम्रो दृश्यात्मक परिणाम दिन्छ ।

तर कतिपय मानिसले यो नबुझ्न सक्छन् कि यदि कपाल प्रत्यारोपणपछि उपचार गर्न बन्द गरियो भने पाँचदेखि छ वर्षपछि आफ्नो प्राकृतिक कपाल झर्ने स्थितिमा फेरि पुग्न सकिन्छ । र प्रत्यारोपित कपाल मात्र बाँकी रहन्छ ।

केशविशेषज्ञ एनिटान एगिडी कपाल प्रत्यारोपणलाई अन्तिम विकल्पको रूपमा लिनुपर्छ भन्ने धारणा राख्छिन् र यो कपाल झर्ने सबैको समस्याको समाधान पनि होइन ।

‘कपाल प्रत्यारोपण भनेको चिसोमा बाहिर निस्कँदा ज्याकेट लगाउनु र ज्याकेट लगाएपछि भित्र अरू केही नलगाउनु भएजस्तै हो’, उनी भन्छिन् ।