काठमाण्डु–हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको स्वीकार गरेको छ ।
हमासले एक विज्ञप्ति जारी गर्दै आफनो नेता हानियाको मृत्यु भएको पुष्टि गरेको हो । हानिया ६२ वर्षका थिए ।
हमासका अनुसार तेहरानमा आफ्नै निवासमा बसिरहेका बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो ।
हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए । उक्त समारोह मङ्गलवार भएको थियो ।
हानियाको अर्को नाम अबु अल–अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरायल–गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए ।
सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा राखेको थियो । सन् १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरायल र लेबनान बीचको ‘नो–म्यान्स् ल्यान्ड’को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वासनमा पठाइएको थियो ।
आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो ।
हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदमुक्त गरेका थिए ।
इज्ज अल–दिन अल–कसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उनले पनि पद गुमाएका थिए । त्यस क्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए ।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे । उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए ।
त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपील पनि गरेका थिए । सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका थिए ।
उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया