हसिनाको प्रस्टोक्ति : मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें

हसिनाको प्रस्टोक्ति : मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें


काठमाण्डु – कोटा विरोधी आन्दोलन उग्र भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता गिर्नुमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । उनले बंगलादेशमा भएको कोटा विरोधी आन्दोलनमा पनि विदेशी शक्तिको हात रहेको उल्लेख गरेकी छन् ।

भारतको सञ्चारमाध्यम द प्रिन्टले आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई हसिनाले सन्देश पठाउँदै त्यस्ते बताएको उल्लेख गरेको छ । द प्रिन्टले हसिनाको भनाइ उल्लेख गर्दै लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’

द प्रिन्टले देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भएको उल्लेख गरेको छ । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो । हसिनाले गत जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएपछि कुटनीतिक क्षेत्रमा चर्चा चुलिएको थियो ।

हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिएकी पनि द प्रिन्टको समाचारमा उल्लेख छ ।

हसिनाले राजीनामा दिएपछि २४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएर काम सुरु गरेका छन् ।

हसिनाले आन्दोलन उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत भारत पुगेकी थिइन् ।

भारतमा रहेकी हसिनाले वक्तव्यमा ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’

आफू देशमै रहेको भए झन् धेरैको मृत्यु हुने र धेरै सम्पत्तिमा क्षति पुग्ने देखेर देश छोडेको पनि उल्लेख गरेकी थिइन् । आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।

हसिनाले वक्तव्यमा आफू छिटै फर्कने बताएकी समाचारमा उल्लेख छ । ‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो । मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ,’ उनको वक्तव्यमा उल्लेख रहेको समाचारमा उल्लेख छ ।