मन्त्रालयमै ऊर्जामन्त्री खड्कामाथि दुर्व्यवहार गर्ने गोरखाका पोखरेल

मन्त्रालयमै ऊर्जामन्त्री खड्कामाथि दुर्व्यवहार गर्ने गोरखाका पोखरेल


काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै दुर्व्यवहार गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका–५, मुच्चोकका हरि पोखरेल रहेको खुलेको छ । प्रहरी स्रोतले पोखरेलले मन्त्री खड्कामाथि हातपात र दुव्र्यवहार गरेको जानकारी दियो ।

मन्त्री खड्कामाथि पुस २६ गते शुक्रबार मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात भएको थियो ।

मन्त्री खड्काको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले पोखरेललाई समाते पनि खड्काले छोडिदिन भनेपछि सुरक्षाकर्मीले पोखरेललाई छोडेका थिए ।

सिंहदरबारको सुरक्षार्थ खटिएको प्रहरी वृत्तका एक अधिकारीले मन्त्री खड्कामाथि हातपात गर्ने पोखरेल २०७९ को निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि गोरखाको निर्वाचन क्षेत्र २(२) बाट स्वतन्त्र उम्मेदवार थिए ।

मन्त्री खड्काले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा आफूमाथि मन्त्रालयमै हातपातको प्रयास भएको जानकारी गराएपछि घटना बाहिरिएको हो । यो घटनाबारे बैठकमा गृहमन्त्री रमेश लेखकसँग मन्त्री खड्काको भनाभनसमेत भएको थियो ।