सौराहामा हात्ती महोत्सव हुँदै

सौराहामा हात्ती महोत्सव हुँदै


काठमाण्डु- चितवनको सौराहामा आजदेखि १८औं संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको हो ।

पुस १५ गतेसम्म चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ ।

हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । यहाँका होटलहरूले महोत्सवका अवसरमा पर्यटकलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएका छन् ।

महोत्सवमा हात्तीको श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग बीटुबी गोष्ठी, चितवनको पर्यटनको सम्भावना हिजो र आज विषयक अन्र्तक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रर्दशनी पनि राखिने आयोजकले जनाएको छ ।

हात्ती महोत्सवमा निजी तथा सरकारी गरी ८० भन्दा बढी हात्ती सहभागी हुनेछन् । सौराहामा ६० वटा निजी हात्ती छन् । हात्ती वनभोज कार्यक्रमा सबै हात्तीलाई सहभागी गराइनेछ । यसपटक हात्ती महोत्सवमा हात्ती पोलो खेल समावेश गराइएको भए पनि केही पशु अधिकारकर्मीका नाममा विरोध भएपछि त्यसलाई हटाइएको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरले जानकारी दिए ।