बाढी-पहिरोपछि संक्रमण फैलिन नदिन स्वास्थ्यमन्त्री पौडेल सक्रिय, सतर्कता अपनाउन अपिल

बाढी-पहिरोपछि संक्रमण फैलिन नदिन स्वास्थ्यमन्त्री पौडेल सक्रिय, सतर्कता अपनाउन अपिल


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी-पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलिन नदिन सतर्कता उपाय अपनाउन ३ वटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् ।

मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी-पहिरोपछि पानीका स्रोत प्रदूषित भएका र यसकै कारण झाडापखाला, हैजा तथा डेंगु लगायतका संक्रामक रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे ।

विपद्को समयमा स्वास्थ्यकर्मीहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, ‘स्वास्थ्यकर्मीहरूले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्‍याएको भूमिका सराहनीय छ, अब यसपछि फैलिन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौं ।’

खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलिन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता उनले जनाए । यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठ्यारो फुकाउन मन्त्रालय लाग्ने उनले बताए ।

बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।

बैठकमा बाढीपहिरोबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकी लगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराउँदै पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग मागेका थिए ।

मन्त्री पौडेलले २ वटै मन्त्रालय मिलेर तत्काल सहयोग माग भएका ठाउँमा पठाउने र आवश्यक परेका ठाउँमा विशेष स्वास्थ्य टोली खटाउने प्रतिबद्धता जनाए । संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढी रहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने उनले बताए । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने पनि उनले बताए ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदूषित भएकाले आफूहरूले ट्यांकरबाट किनेरै क्लोरिनेसन गरेर पानी वितरण गरेको बताए ।

बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रीको निर्देशनअनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा संक्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाएका छन् ।