काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ।
उनको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको हो। राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो। मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत गर्दै सोको जानकारी सचिव डा.चौधरीलाई जानकारी दिनसमेत मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र पठाए पनि मौखिकरुपमा लिन नसकिएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए।
१७ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले चौधरीको राजीनामा अस्वीकृत गरेको थियो। मन्त्रालयमा दुई सचिव राख्ने व्यवस्था भएपछि सचिव डा.चौधरीलाई सरकारले डेढ वर्षअघि सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो।
०७५ असोज ८ गते सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय बदर गर्दै सरुवा र रमाना लगायतका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी पदमा बहाल रहेकी थिइन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ।
प्रतिक्रिया