सिन्धुपाल्चोक – गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची तिपेनी सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटोका कारण गाउँदेखि काठमाडौँसम्मको सिधा यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुलाई सास्ती भएको छ ।
मेलम्ची नगरपालिकाअन्तर्गत पर्ने उक्त सडकखण्डको राम्चेमा पहिरो जाँदा यातायात सञ्चालन गर्न जोखिम देखिएपछि स्थानीय तहले नै मर्मतका लागि बाटो बन्द गरेको हो । बाटो मर्मतको काम भइरहेको भए पनि नियमित यातायात सञ्चालनका लागि दुई सातासम्म लाग्ने मेलम्ची नगरपालिकाका इञ्जिनीयर जीतबहादुर कार्कीले बताए ।
बाढीका कारण मेलम्ची बजारमा पुल नहुँदा वैकल्पिक सडकको प्रयोग गर्दै आइरहेका पाँचपोखरीका स्थानीयलाई खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको छ ।
गएराति भारी वर्षापछि आएको बाढीका कारण मेलम्ची हेलम्बु सडकखण्ड पनि अवरुद्ध भएको हो । मेलम्ची ११ सिमखेतमा खोलाले सडक कटान गर्दा यातायात सञ्चालन हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यस्तै मेलम्ची १० रामपुरबेंसीमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रासस
प्रतिक्रिया