न्यायाधीशले गर्ने न्यायको आधारमा नै न्यायपालीकाको स्थान सुरक्षित  रहन्छ : हेमन्त रावल

न्यायाधीशले गर्ने न्यायको आधारमा नै न्यायपालीकाको स्थान सुरक्षित  रहन्छ : हेमन्त रावल


निश्पक्षता,निर्भिक्ता र न्याय प्रतिको उच्च निस्ठा सहितको समर्पणभाब नभई ब्यक्तिमा भएको केबल कानूनको कोरा अध्ययन र शैक्षिक उच्च उपाधीले मात्र न्यायको उच्चतम मर्मबोध र न्याय प्रबाहको सुनिस्चितता हुन सक्दैन   

न्यायाशनामा बसेको व्यक्ति अध्ययनमा अब्बल छ तर आचरणमा खराब छ,आचरणमा असल छ तर क्षमता र दक्षतामा औशत भन्दा तल छ ! क्षमता,अध्ययन र आचरणमा उन्नत छ तर सामयिक परिस्थितीलाई कानून अनुकूल सन्तुलनमा राख्न सक्ने स्वभाबको सर्बथा अभाब छ र बिषय केन्द्रित प्रबृतीमा लिप्त छ भने पनि न्यायको नतिजा सुखद हुन सक्दैन ।

त्यसैले हरेक बिबाद भित्र सम्बाद खोज्ने, समस्या भित्र समाधान देख्ने र शुक्ष्म बिश्लेषण गर्न सक्ने सम्यक सोंच,स्पस्ट दृस्टिकोण अनि सदविवेक सहितको उन्नत चेतना भएको सात्विक व्यक्ति नै न्यायाशनका लागी योग्य र उपयुक्त मानिन्छ    त्यस्ता सुयोग्य व्यक्तिको बिचार प्रबाह र कार्य सम्पादनबाट मात्र समग्र न्यायको रक्षा हुन सक्दछ भन्ने मान्यता रहेको पाईन्छ । 

न्याय सम्पादनको कार्य कुनै गणितीय शुत्रबद्ध जुक्ति होईन । प्रबिधीको सहयोगले निकालिने कुनै बान्छित नतिजा मात्र पनि होईन । यो हरेक घटनाको फरक फरक सच्चाईको गुणात्मक्तामा नापिन्छ, सम्बन्धित पक्षको सन्तुस्टीको गहिराईमा खोजिन्छ र सत्यको निकटतामा पर्गेल्ने गरिन्छ । 

भिडले सत्य जान्दैन तर भिडमा सत्य हराउनु पनि हुदैन । भिडको मनोबिज्ञान र न्यायको सार बिच कुनै तालमेल हुदैन तर जब भिडले सत्यको निर्क्यौल गर्ने गर्दछ तब सत्यको स्वत्व र सार (Gravity & Essence of Justice ) पनि रहदैन । न्यायाधीशले भिडको भारलाई पनि सहजै पन्छाउन सक्ने सामर्थ्यको बिकाश गर्नु पर्दछ । 

कोहि पनि व्यक्ति जन्मजात न्यायाधीश  हुदैन । समाजले नै न्यायाधीश जन्माउछ र बनाउछ । त्यसैले समाज भित्रको शिक्षा,सस्कार, ब्यबहार  आचरण ,अबसर र अभ्याशको  पराबर्तन नै असल न्यायाधीशको बैयक्तिक र चारित्रीक आधार हो । यसलाई समाजको स्थिर पुजीको रुपमा समाजले नै जोगाई रहनु पर्दछ । 

एउटा असक्षम र अयोग्य व्यक्ति न्यायाशनमा कथंकदाचित बस्न पुग्यो भने उसले गर्ने न्यायको नामको अन्यायले सम्बद्ध  नागरिकले लामो समय सम्म न्यायको यात्रामा प्रताडित भैरहनु पर्दछ ।  न्यायाधीशले गर्ने गल्ती सच्याउनै नसकिने हुन्छ र सच्याउदा पनि खर्चिलो र झन्झटिलो हुन्छ । झन्झेटिलो प्रकृयाको उल्झनमा पर्न सक्ने नागरिकको जोखिमको अबस्थालाई न्यायाधीशको नियुक्तिकर्ताले अत्यन्त साबधानीका साथ हेर्दै उच्च स्तरको साबधानी अपनाउनु पर्दछ  । त्यसैले न्यायाधीशको नियुक्तिमा धेरै जनाको सहभागिता भन्दा पनि धेरै तहको परिक्षण ( Scrutinize ) विधिहरु अबलम्बन गर्ने गरिन्छ । 

त्यसो त बिश्वका कतिपय विकसित देशहरुमा न्यायाधीशहरु जनताबाट निर्बाचित हुने पनि गर्दछन । ति व्यक्ति कानूनका विज्ञ नभए  पनि न्यायका मर्मज्ञ साबीत भएका  छन । कतिपय देशहरुमा न्यायाधीशहरु देशको कार्यकारिणीबाट नियुक्त हुने र त्यस्तो नियुक्ती  बिधायिकाबाट अनुमोदित हुने गर्दछन ।

त्यस्ता नियुक्तिहरुका कामकारबाहीहरुमा बिधायिकी प्रभाब पर्ने गरेकोे देखिदैन । त्यसो नहुनुको  पछाडी न्यायाधीश नियुक्त हुने व्यक्तिको नियुक्तिदाता प्रति अनुगृहित नहुने व्यक्तिगत Integrety, Intelectuality र बिधायिकाको अहस्तक्षेपकारी नीति र चरित्र नै प्रमुख रहेको पाईन्छ 

केही अन्य देशहरुमा सरकारबाटै सिधै न्यायाधीशहरु नियुक्त हुने गर्दछन र उनिहरुले सरकारको निर्देशन बमोजिमको न्याय गर्ने गर्दछन किनकि ति देशहरुको सन्दर्भमा  न्याय भनेकै जिम्मेवारीको निर्देशन हो । छिमेकी देश भारतमा न्यायाधीश र  न्यायबिदहरुको कलेजियम प्रणालीबाट न्यायाधीश नियुक्तिको सिफारिस गर्ने गरिन्छ भने हाम्रो देशमा परिषद प्रणालीको अभ्याश निरन्तर छ । 

जे जुन प्रणालीबाट न्यायाधीशहरुको नियुक्त गरिएको भए  पनि न्याय प्रति निस्ठाबान र समर्पित व्यक्तिको चयन भएको अबस्थामा मात्र नियुक्त ब्यक्तिबाट सम्पादित न्याय कम बिबादित हुने गरेकोे देख्न र सुन्न पाईन्छ ।  

विकसित देशहरुमा न्यायायाधीशलाई न्यायाधीशको कामको आधारमा मात्र मुल्याङ्कण गर्ने गरिन्छ । न्यायाधीशको नियुक्ती पश्च्यात उसले  गरेका आदेश वा निर्णयहरुको आधारमा मात्र उसको न्यायिक कार्यक्षमताको जाँच गर्ने  गरिन्छ । त्यसैले उ समाजमा हिजो के थियो वा कहा थियो र अन्य के कुन पेशा ब्यबसाय गर्दथ्यो भन्ने कुराले न्यायाधीश भै सके पछि खास केही अर्थ राख्दैन । 

न्यायाधीश भै सकेपछि उसले गर्ने आदेश वा निर्णयहरुको सार्बजानिक रुपमा न्यायिक सम्परिक्षण हुने हुदा स्वतन्त्र पर्यबेक्षकको रुपमा रहेको आम नागरिकको आखामा योग्य साबीत हुन नसक्ने  र निस्पक्षता स्थापित गर्न नसक्ने व्यक्ति  न्यायाशनमा बस्नै सक्दैन ।  त्यसैले जिम्मेवारीमा बस्ने  ब्यक्ति स्वयंले आफ्नो सान्दर्भिक्ता,उपयुक्तता र औचित्य स्थापित गर्न सक्नु पर्दछ ।

तर पनि समाजले सधैं स्वच्छ छबीका बिबादरहित व्यक्तिहरू नै रोज्ने र खोज्ने हुदा न्यायाधीशको नियुक्तिकर्ताले पनि कानूनको आबरणमा मात्र होईन समाजको अपेक्षा र यथार्थतालाई पनि ध्यान दिनु पर्दछ । स्वयं नियुक्तिकर्ता पनि स्वतन्त्र नागरिक पर्यबेक्षकको नजरमा खरो रुपमा उत्रनु पर्ने हुदा उनिहरुको निरपेक्ष अपेक्षालाई नियुक्तिकर्ताले पनि  स्वाभाबिकताकै कसिमा उत्रीनु पर्दछ ।

ज्ञानयुक्त निर्भिक्ता र बिबेकयुक्त स्वतन्त्रता भएन भने न्याययुक्त निस्पक्षता रहदैन । निस्पक्षता,निर्भिक्ता र स्वतन्त्रतासङ्ग न्यायको बिश्वसनियता अभिन्न रुपमा जोडिएको हुन्छ । न्यायको बिश्वसनियताका यी आधारहरुलाई जोगाउन न्यायाधीशको व्यक्तिगत तत्परता र न्यायपालीकाको अनबरत सस्थागत प्रयत्न त चाहिन्छ नै साथै सम्बद्ध अरु निकाय र सिङ्गो समाजको दायित्व पनि उत्तिकै रहन्छ । 

न्यायिक स्वतन्त्रता न्यायाधीश र न्यायापालीकाको व्यक्तिगत / सस्थागत  स्वतन्त्रता र सुरक्षाका लागी होईन । यो त नागरिकको बृहत्तर स्वतन्त्रतताको रक्षाका लागी हो । नागरिकको  बृहत्तर स्वतन्त्रता रक्षाका लागी रक्षाकवचको रुपमा रहेको न्यायपालीकाको सस्थागत सबैधानिक स्वतन्त्रता र न्यायाधीशको कार्यगत  स्वतन्त्रतालाई न्यायाधीशको निजी स्वतन्त्रता र स्वच्छन्द ब्यबहारको रुपमा प्रयोग गरियो भने परिणाम दुखद हुने गर्दछ । न्यायाधीशले गर्ने न्यायको आधारमा नै न्यायपालीकाको स्थान सुरक्षित  रहन्छ ।

आधुनिक समाजले दैबिय/इश्वरिय जस्तो चमत्कारिक न्यायको अपेक्षा त राख्दैन होला  तर जे जति सामयिक अपेक्षा राख्दछ प्रचलित कानूनको अधिनमा रहेर त्यसको प्रभाबकारी सम्बोधन गर्ने सामर्थ्य त न्यायपालीकाले राख्नै पर्दछ । त्यसको लागी न्यायाधीशको योज्ञता र क्षमतालाई समयानुकुल तिखार्ने निखार्ने काम  पनि स्वयं न्यायाधीशहरुको र न्यायपालीकाकै हो । न्यायाधीशहरुको क्षमता  बिकाशका लागी गरिने सस्थागत  लगानीले पनि सस्थागत सुधारका लागी ठूलो महत्व राख्दछ ।

अत:न्यायिक  स्वतन्त्रतालाई न्यायिक स्वच्छन्दताको रुपमा प्रयोग हुन नदिउ । तर स्वतन्त्रतालाई अबिश्वाशको अस्त्रले सङ्कुचन पनि नगरौ ! किनकि स्वतन्त्रता सङ्कुचित भयो, निर्भिक्ता निरिह भयो र निस्पक्षता पक्षधरतामा परिणत भयो वा निर्णयहरु अनिर्णित अबस्थामा रहने भयो भने भोली समाजमा आउन सक्ने सम्भाबित अराजक बिपत्तीको रक्षाकवचको रुपमा रहनु पर्ने न्यायपालीका  निरिह भयो भने  नागरिकको स्वतन्त्रता खतरामा पर्ने जोखिम रहन्छ ।

न्यायपालीकाको स्वतन्त्रता भित्र नै नागरिक स्वतन्त्रता , प्रेश स्वतन्त्रता र अन्य बिभिन्न पेशागत स्वतन्त्रताहरु सुरक्षित हुन सक्ने हुदा  स्वतन्त्रताको गम्भिरतालाई सबैले गम्भिर रुपले मनन गरौं । नागरिकलाई न्यायको भरपर्दो ओत दिन  पनि सक्षम र स्वतन्त्र न्यायपालीका आबस्यक पर्दछ ।

त्यसैले न्यालयको सुद्धिकरणका लागी थालिएका सुधारका प्रयासहरुलाई सुधारकै रुपमा बढी बुझौ र अन्यथा अर्थमा नहेरौ । सम्बद्ध सबैले आ आफ्नो स्वतन्त्रतालाई मर्यादित र जिम्मेवार ढङ्गले आ आफ्नो ठाउबाट अभ्याश गरौं !  न्यायलयका संवेदनशिल कामकारबाहीहरुलाई संवेदनशिल भएर जिम्मेवार ढङ्गले न्यायिक मनका साथ हेर्ने गरौं !  बुझ्ने  गरौं र त्यसरी नै लेख्ने गरौं । 

यदि तलाउको पानी फोहर भयो भने तलाउ त सफा गर्नु पर्छ नै तलाउ वरिपरिको परिबेश पनि सङ्सङ्गै सफा गरिनु पर्दछ । अन्यथा क्षणिक रुपमा तलाउ सफा जस्तो देखिए पनि तलाउ फोहर हुने क्रम बढी रहनेछ र तलाउको परिबेशमा फोहर गर्ने प्रबृत्तीहरु पनि बढी रहनेछन । सफेद समाजमै सफेद सस्थाहरु जन्मन्छन हुर्कन्छन र ति सस्थाहरुले बान्छित परिणामहरु दिने गर्दछन ।