महानगरका सम्पदा क्षेत्रमा ६० दिनभित्र निशुल्क वाइफाइ सञ्चालन हुने

महानगरका सम्पदा क्षेत्रमा ६० दिनभित्र निशुल्क वाइफाइ सञ्चालन हुने


काठमाडौँ – अवको ६० दिनभित्र काठमाडौंका सम्पदा क्षेत्रमा आउने आगन्तुकले निशुल्क वाइफाइ सेवा लिन सक्ने भएका छन् । आइतबार काठमाडौं महानगरपालिका र वर्ल्डलिंक बीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भए पछि निशुल्क वाइफाइ सेवा सुचारु हुने सुनिश्चित भएको हो ।

सम्झौता पत्रमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्र्ड लिङ्ककातर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे ।

सम्झौता समारोहमा वोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसबाट प्राप्त प्रभाव विश्लेषणपछि सेवा थप गर्ने प्रतिवद्धता जनाए । नागरिकको जीवनमा प्रविधि जोड्न प्रयास अघि बढाइरहेका छौं, कतै यो दुरुपयोग पो हुन्छ कि, चिन्ता पनि छ । प्रमुख शाक्यले भने ‘यसबाट आएको परिणामपछि पहुँच र सेवा विस्तार गर्छौं ।’

महानगर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने नीतिगत व्यवस्था बमोजिम अहिले यो चरण आएका छौं । कार्यक्रमका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ‘प्रविधिमार्फत सेवा सुविधामा नागरिकलाई जोड्न यो महत्वपूर्ण कदम भएको हाे ।’

महानगरसँगको सम्झौताबमोजिम हामी गुणस्तरीय सेवा दिन्छौं । आवश्यक परे यसलाई वृद्धि गर्न पनि तयार छौं । कार्यक्रममा वल्र्ड लिङ्कका निर्देशक विजयकुमार जलानले भने । उनका अनुसार लिङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा दिन लागेको हो ।

सम्झौताबमोजिम महानगरका सम्पदा क्षेत्रहरु बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा, र पशुपति क्षेत्रमा आउँदो ६० दिनभित्र वल्र्ड लिङ्कले सेवा जडान गरिसक्नेछ । यदि यसो हुन नसकेको अवस्थामा महानगरको अनुमति लिएर थप १ महिना समय थप गरेर वाईफाइ जडान हुनेछ । त्यस अवधिमा पनि जडान हुन नसके सम्झौता स्वत रद्द हुनेछ ।

वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् ।

सेवामा सवैको पहुँच पुगोस् भन्ने दृष्टिले एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले उसलाई त्यसदिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाइन्टबाट सेवा लिन सक्नेछ ।

यसको प्रभावकारिता हेर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारि एकाईबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ ।