मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो ।
मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ । सुरक्षा निकायले दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । वैशाख २८ गते मोदीले गर्ने मुक्तिनाथ भ्रमणका लागि तीन दिनसम्म अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि छलफल चलेको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारी साधान रोकेर स्तरोन्नतिको काम भइरहेको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको र यहाँको धार्मिक पर्यटनको विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।
यसैबीच, रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिएका थिए । सो अवसरमा उनले मुस्ताङस्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकता दिएको बताएका थिए ।
प्रतिक्रिया