काठमाण्डु – हिमालयन रि–इन्स्योरेन्सको प्रिमियम आईपीओ रोक्न माग राख्दै उच्च अदालत पाटनमा दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ ।
यससँगै अब हिमालयन रि–इन्स्योरेन्सको आईपीओको आवेदन खुल्ने भएको छ ।
हिमालयन–रिको प्रिमियम आईपीओ रोक्न माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यमप्रसाद भट्टराईले संयुक्त रूपमा उच्च अदालतमा रिट दायर गरेका थिए । हिमालयनले भोलि मंसिर २७ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।
अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गर्न लागेको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि शेयर जारी गरेको थियो ।
अब आईपीओमा मंसिर २७ देखि पुस १ गतेसम्म सर्वसाधारणले आवेदन भर्न पाउनेछन् । १० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने जनाइएको छ ।
प्रतिक्रिया