लेबनानमा चार दशकदेखि दबदबा बनाइरहेको हिज्बुल्लाह

लेबनानमा चार दशकदेखि दबदबा बनाइरहेको हिज्बुल्लाह


काठमाण्डु-लेबननमा पछिल्ला दुई सातादेखि इजरायलले गरिरहेको क्षेप्यास्त्र आक्रमणमा अहिलेसम्म १,१०० भन्दा धेरै लेबनानीको मृत्यु भइसकेको छ । आक्रमणकै क्रममा लेबननको भूमिमा इजरायली फौजले कब्जा पनि जमाएका छन् ।

यो अवस्था लेबनानको एउटा राजनीति दल तथा लडाकु समूह हिज्बुल्लाह र इजरायल बीचको द्वन्द्वका कारण आएको हो ।

हिज्बुल्लाह लडाकु समूह लेबनानको राष्ट्रिय सेनाभन्दा बढी शक्तिशाली छ । यो समूहलाई खासगरी त्यहाँका सिया मुस्लिमहरूको व्यापक साथ छ । यो औपचारिक रूपमा कुनै राज्यको सङ्गठन होइन । तर लेबनानमा पछिल्ला चार दशकमा यो समूह व्यापक दबदबा भएको शक्तिका रूपमा स्थापित छ ।

कसले चलाउँछ लेबनानलाई ?

लेबनानका राजनीतिक शक्तिहरू त्यहाँका विभिन्न धार्मिक समूह र सम्प्रदायबीच विभाजित छन् ।

फ्रान्सबाट स्वतन्त्र हुँदा सन् १९४३ मा सहमति गरिएको एउटा सन्धिअनुसार त्यहाँका राष्ट्रपति मेरोनाइट सम्प्रदायका इसाई, प्रधानमन्त्री सुन्नी मुस्लिम समूहका र सभामुख सिया मुस्लिम समूहका हुनुपर्छ ।

यसले लेबनानमा उतिबेलाको विभिन्न धार्मिक समुदायको तुलनात्मक आकार झल्काउँछ । त्यसबेला इसाईहरूको जनसंख्या सुन्नी र सिया मुस्लिमभन्दा धेरै आधाभन्दा बढी थियो । यद्यपि धेरैले यतिखेर उक्त सन्धिको औचित्य सकिएको ठान्छन् ।

अहिले त्यहाँ इसाईहरूको जनसंख्या सिया र सुन्नी मुस्लिमहरूको जनसंख्याभन्दा ३० प्रतिशतभन्दा केही बढी मात्र रहेको अनुमान गरिन्छ । १९४३ को सन्धिअनुसार इसाई र मुस्लिमको संसद्मा बराबर सीट संख्या हुनुपर्छ । यद्यपि लेबनान हाल मुस्लिमबहुल देश बनेको छ ।

व्यवहारमा भने लेबननमा कुनै एउटा दल वा धार्मिक सम्प्रदायले समग्र शक्ति हासिल गर्दैन । संसदीय गठबन्धनसाथ सरकारहरू बन्छन् र ठूला निर्णयहरू सहमतिका आधारमा लिइन्छन् । त्यसले प्रायः राजनीतिक रूपमा निष्क्रिय अवस्था उत्पन्न गर्छ ।

लेबननमा हिज्बुल्लाह

हिज्बुल्लाह सिया मुस्लिम लडाकु समूहका रूपमा सन् १९८२ मा बनेको थियो । लेबनानी गृहयुद्धका बेला सोही वर्ष दक्षिण लेबनानमा इजरायली फौजले कब्जा जमाएपछि त्यससँग जुझ्न उक्त समूह तयार पारिएको थियो ।

इरानबाट आर्थिक सहयोग पाएको यस समूहसँग व्यापक अस्त्र छ । अरबीक शब्द हिज्बुल्लाहको अर्थ ‘ईश्वरको दल’ हुन्छ । औपचारिक रूपमा सन् १९८५ मा स्थापना भएको घोषणा गर्दै हिज्बुल्लाहले इरानमा जस्तै लेबनानमा समेत इस्लामिक गणतन्त्र स्थापना गर्न चाहन्छ । उसले दक्षिण लेबनान र प्यालेस्टिनी भूभागबाट इजरायली कब्जा अन्त्य गर्ने बाचा गरेको छ ।

सन् २००९ मा उसले जारी गरेको नयाँ घोषणापत्रमा इस्लामिक गणतन्त्र स्थापनाको कुरा उल्लेख छैन । तर आफू इजरायलविरुद्ध रहेकोमा यो संगठन अडिग छ । सन् १९९० मा लेबनानी गृहयुद्ध अन्त्य हुँदा सबै युद्धरत पक्षले आफ्ना लडाकु समूह भङ्ग गरे पनि हिज्बुल्लाहले त्यसलाई कायमै राखेको थियो ।

सन् २००० मा इजरायल अन्ततः उक्त क्षेत्रबाट पछि हट्यो र हिज्बुल्लाले त्यसलाई जितका रूपमा दाबी गर्‍यो ।

सन् १९९२ देखि हिज्बुल्लाहले संसद्का लागि आफ्ना उम्मेदवार अघि सार्दै आएको छ । अहिले लेबनानको संसद्मा हिज्बुल्लाहका कैयौँ सांसद र सरकारमा मन्त्रीहरू पनि छन् ।

यो समूह लेबननाका अधिकांश सिया समुदायको बसोबास रहेको क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा संलग्न छ । लेबनानमा अन्य दलहरूले समेत आफ्ना प्रभाव क्षेत्रमा त्यस्ता सेवा प्रदान गर्ने भए पनि हिज्बुल्लाहको सञ्जाल त्यस्ता कार्यमा व्यापक रहेको ठानिन्छ ।

हिज्बुल्लाहका लडाकुहरू संसारमै सबैभन्दा शक्तिशाली गैरराज्य पक्षका सैनिक मानिन्छन् । लेबनानमा हिज्बुल्लाह त्यति धेरै शक्तिशाली हुनु पछाडिको एउटा कारण उसका लडाकुहरू हुन् ।

उसले आफ्ना लडाकुको संख्या करिब १ लाख रहेको बताए पनि स्वतन्त्र अनुमानमा उक्त संख्या २० हजार देखि ५० हजार बीचमा रहेको ठानिन्छ । अस्त्रका हिसाबले समेत हिज्बुल्लाहसँग १,२०,००० देखि २,००,००० लाख बीचमा रकेट र क्षेप्यास्त्र रहेको अमेरिकी थिङ्क ट्याङ्क द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिज्ले जनाएको छ ।

हिज्बुल्लाहका लडाकुहरू लेबनानका राष्ट्रिय सैनिक भन्दा निकै शक्तिशाली मानिन्छन् र लेबनानको राष्ट्रिय सरकारको कमजोरीको समेत लाभ उठाइरहेको छ । उदाहरणका लागि राजनीतिक दलहरू सहमतिमा आउन नसकेकै कारण सन् २०२२ यता त्यहाँ राष्ट्रपति छैनन् ।

केन्द्र सरकार हिज्बुल्लाहलाई उसकै आफ्नै मुद्दामा अगाडि बढ्नबाट रोक्न सक्ने गरी बलियो छैन ।